×

वीरगञ्ज । वीरगञ्जको आईसीपी भन्सार क्षेत्रमा अहिले तनावपूर्ण स्थिति सिर्जना भएको छ। बिहीबार अपरान्ह ट्याङ्करले ठक्कर दिएर घाइते भएका मोटरसाइकल चालक टिनु कुमार साह तुराहाको मृत्यु भएपछि स्थानीयहरू आक्रोशित बनेका छन्।

ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई बिहीबार करिब साढे ३ बजे ठक्कर दिएको थियो। ठक्करबाट वीरगञ्ज–१७, अलौंका २२ वर्षीय मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै गण्डकस्थित बयोधा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारको क्रममा गएराति उनको मृत्यु भएको हो।

आज बिहान तुराहाको मृत्युको खबर फैलिएपछि हजारौं स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले ट्याङ्कर चालकको लापरवाहीले दुर्घटना भएको र जानाजान ठक्कर दिइएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। घटनामा संलग्न चालकलाई कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै प्रदर्शनकारीहरू भन्सार क्षेत्रको आईसीपी क्षेत्रमा भेला भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

अहिले पनि भन्सार क्षेत्रमा स्थानीयहरूको प्रदर्शन जारी छ, र स्थिति तनावग्रस्त बनेको छ।

Back to top