×

वीरगञ्ज । जसपा नेपालकी मधेश प्रदेश सांसद ललिता दासले मधेश प्रदेश सरकारले वन अधिकृतहरूको सरुवामा आर्थिक चलखेल गरेको आरोप लगाएकी छन्। उनले प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतीशकुमार सिंहले आठवटै जिल्लाका वन कार्यालयका वन अधिकृतहरूको सरुवामा रकम लिएर निर्णय गरेको दाबी गरिन्।

सांसद दासले विशेष रूपमा लहानका प्रमुख वन अधिकृत सुजितकुमार झाको सरुवामा मुख्यमन्त्रीले रकम खाएको आरोप लगाइन्। उनले भनिन्, "अधिकृत झा अबैध बालुवा र गिट्टी उत्खनन रोक्न र वनको अतिक्रमित जग्गा फिर्ता ल्याउन सक्रिय थिए, तर उहाँको अचानक सरुवा भयो। मलाई लाग्छ, मुख्यमन्त्रीले रकम लिएर सरुवा गर्नुभएको छ।"

सांसद दासले मुख्यमन्त्री सिंहले अबैध बालुवा उत्खनन र मारुति सिमेन्ट उद्योगसँग आर्थिक संलग्नता रहेको आरोप पनि लगाइन्। उनले भनिन्, "अधिकृत झाको सरुवापछि वनको नियमित गस्ती नै हुन छोडेको छ। राम्रा कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा दण्डित गरिएको छ।"

जसपा नेपालले प्रदेशसभा बैठक बहिष्कार

त्यसैगरी, मधेश प्रदेशसभाको बैठकमा खेलकुद सम्बन्धी विधेयकमाथिको छलफल चलिरहँदा जसपा नेपालका सांसदहरूले बहिष्कार गरेका छन्। खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जैसवालले समितिको प्रतिवेदनसहित विधेयक प्रस्तुत गरेपछि छलफल सुरु भएको थियो।

तर जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सदनमा गणपुरक संख्या नभएको भन्दै नियमापत्ति जनाएपछि बैठक अवरुद्ध भयो। यादवले सरकारको गैरजिम्मेवारीपनप्रति असन्तुष्टि व्यक्त गर्दै भने, "वर्षौंदेखि खेलाडीहरूले प्रतिक्षा गरेको विधेयक पास गर्न सरकार कति गैरजिम्मेवार छ, त्यो देखिएको छ।"

सभामुख रामचन्द्र मण्डलले गणपुरक संख्या नपुगेकाले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

मधेश प्रदेशसभामा १०६ जना सांसद छन्, जसको एक चौथाई अर्थात् कम्तीमा २७ जना उपस्थित हुनुपर्नेमा गणपुरक संख्या पुगेको थिएन।

Back to top