×

वीरगञ्ज । वीरगञ्जमा रहेर चार दशकदेखि निरन्तर रुपमा पत्रकारिता गरीरहेका सुर्दशनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारण स्वास्थ्यमा समस्या भएपछि उपचाररत बरिष्ठ पत्रकार पाण्डेको बिहिवार अपरान्ह निधन भएको हो । 

१३ भदौमा वीरगञ्जको घण्टाघरमा पैदल हिँडीरहेको अवस्थामा एक्कासी रक्तचाप बढेर बेहोस भएका पाण्डेलाई नारायणी अस्पताल लगिएको थियो । नारायणी अस्पतालका चिकित्सकले मस्तिष्कघात भएको बताएपछि उनलाई काठमाण्डौ रिफर गरिएको थियो । महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । 

नौबिसे पुख्र्याैली घर भएका पाण्डे पछिल्लो समय बाराको डुमरवानास्थित घरमा बसेर सक्रिय रुपमा पत्रकारिता गरीरहेका थिए । उनले उत्थान साप्ताहिक पत्रिका सञ्चालन गर्दथे । यसबाहेक पाण्डे पर्सा तथा बाराबाट प्रकाशित हुने दर्जन बढी पत्रिकामा सम्पादकीय भूमिकामा रहेर काम गरेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शत्रुघन नेपालले बताए । उनकाअनुसार पाण्डे नेपाल पत्रकार महासंघ पर्साका पूर्व सचिव पनि हुन् । 

पाण्डेको निधनले नेपाली पत्रकारिता क्षेत्रमा ठूलो क्षती भएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बताए । यात्रा डेलीसँग कुराकानी गर्दै अध्यक्ष तिवारीले पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै पर्साको पत्रकारिताको एउटा खम्बा ढलेको प्रतिक्रिया दिए । साथै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् । 

पाण्डेकी पत्नी दीवंगत विन्दू पाण्डे त्यतिबेला नेपाल पत्रकार महासंघ पर्साकी एक्लो महिला सदस्य थिइन् । उनको पनि ५३ वर्षको उमेरमा ५ असार २०७३ मा निधन भएको थियो । 
 

Back to top