×

वीरगञ्ज। नेपालको प्रमुख व्यापारिक केन्द्र वीरगञ्जबाट टाटा मोटर्सको इलेक्ट्रिक सवारी साधन 'पन्च ईभी'को बिक्रि वितरण सुरु भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले वीरगञ्जस्थित आफ्नो शोरुमबाट पन्च ईभीको बिक्री प्रारम्भ गरेको हो।

शुक्रबार वीरगञ्जको मुर्ली चोकस्थित शोरुममा आयोजित एक कार्यक्रमका बीच वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले शोरुमको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रम सिप्रदी ट्रेडिंग प्रा.लि.का सञ्चालकद्वय सुवोध सापकोटा र सचिन गुप्ताको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, समाजसेवी प्रकाश उपाध्यायलगायतको उपस्थिति थियो।

सिप्रदी ट्रेडिंग प्रा.लि.का महाप्रबन्धक सावन्त जंग सिजापतीले पन्च ईभीमा ८ वर्षको वारेन्टी प्रदान गरिएको जानकारी दिँदै, यसको बिक्रि वीरगञ्जबाट सुरु गरिएकोमा खुशी व्यक्त गरे। उनले पन्च ईभीका ग्राहकहरूलाई नेपालभर रहेका २६ वटा चार्जिङ स्टेशनबाट निःशूल्क चार्ज गर्ने सुविधा उपलब्ध गराइने बताए। यस गाडीको प्रमुख विशेषता ५० मिनेटमा पूर्ण चार्ज हुन सक्ने र वातावरणमैत्री हुनु रहेको पनि उनले बताए।

टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ। बहुप्रतीक्षित यो पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन हो, जसमा अत्याधुनिक प्रविधि समावेश गरिएको कम्पनीले दाबी गरेको छ। यसमा १६ इन्चका एलआरआर टायर, १९० मिमीको ग्राउन्ड क्लियरेन्ससहित २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) का दुई भिन्न ब्याट्री प्याक उपलब्ध छन्। कम्पनीले पन्च इभीमा एक लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले पन्च ईभीलाई वातावरणमैत्री सवारी साधनको रूपमा स्वागत गर्दै यसको सफलताको शुभकामना दिए। उनले पछिल्लो समय विद्युतीय सवारी साधनहरू धेरै रुचाइएका कारण यसको बिक्रि बढ्दै जाने विश्वास व्यक्त गरे।

समारोहमा पन्च ईभी खरिद गर्ने पहिलो तीन ग्राहकहरू इन्दुभुषण मल्लिक, डा. साहिल मुर्तजा, र बिदार थापालाई गाडीको चाबी हस्तान्तरण गरिनुका साथै उपहार पनि प्रदान गरिएको थियो । 

कार्यक्रमको सहजीकरण सिप्रदी ट्रेडिंग प्रा.लि.का काठमाडौंस्थित सिनियर म्यानेजर मेघराज ढुंगेलले गरेका थिए। उनले पन्च ईभीका विशेषता, सेवा, र सुविधाबारे विस्तृत जानकारी दिँदै यसको व्यावहारिकता र प्रभावकारीताका बारेमा पनि प्रकाश पारेका थिए ।  

Back to top