×

वीरगञ्ज । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता अभिवृद्धिका लागि पत्रकारहरूसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरेको छ। संघीय सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटको बुँदा नम्बर ४६६ अनुसार दुर्गम र ग्रामीण क्षेत्रमा बीमा संरचनाको साक्षरता अभिवृद्धि गर्ने योजना अघि सारिएको छ।

प्राधिकरणले स्थानीय तह, बीमा कम्पनी लगायतका सरोकारवालासँग सहकार्य गर्दै बीमा सेवा गाउँगाउँसम्म पुर्याउने र यसबारे जनचेतना फैलाउने योजना बनाएको छ। वीरगञ्जको होटेल मकालुमा सम्पन्न पत्रकारसँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा सम्पत्ति बीमा, घर बीमा, लघु बीमा र कृषि बीमा लगायतका सेवाहरू ग्रामीण क्षेत्रमा विस्तार गर्दै जनतालाई बीमाको फाइदाबारे जागरूक बनाउने योजना प्रस्तुत गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले बीमाको प्रभाव र पत्रकारहरूको भूमिकाबारे चर्चा गर्दै बीमा साक्षरता अभिवृद्धिमा पत्रकारहरूले महत्वपूर्ण योगदान दिन सक्ने बताए।

नेपाल बीमा बोर्डका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापहरू रोक्न आवश्यक नीतिहरूबारे पनि छलफल गरे। उनले सञ्चारका माध्यमबाट बीमाको महत्वबारे प्रचारप्रसार गर्दै आम नागरिकमा यसको फाइदा र आवश्यकताबारे बुझाउन पत्रकारहरूको विशेष सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधिहरू, पत्रकारहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो। छलफलमा बीमा साक्षरताको आवश्यकता, यसको विस्तार र प्राधिकरणका आगामी योजनाहरूमा गहन विचारविमर्श गरियो।

नेपाल बीमा प्राधिकरणले पत्रकारहरूसँगको सहकार्यद्वारा ग्रामीण क्षेत्रमा बीमा सेवा पुर्याउने योजना तीव्र पार्ने लक्ष्य राखेको छ, जसले बीमा सेवाको पहुँच सबै नागरिकसम्म पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

Back to top