×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा विद्यालयमा पठाएर तलब बुझ्दै आएका शिक्षकहरुले अबदेखि भने आफ्नै खातामा मासिक रुपमा तलब बुझ्ने भएका हुन् । 

महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल उपलब्ध गराउन आह्वान गरेको छ । 

सूचनामा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरुकै व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमबारभित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’

यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएकोमा अबदेखि भने सिधै सम्बन्धित शिक्षक कर्मचारीको खातामा तलब जाने व्यवस्था मिलाइएको महानगर प्रमुख राजेशमान सिंहले बताए । विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरुले समयमै तलब बुझ्न नपाएको र उहाँहरुको दैनिकी पनि असहज भएको महसुस भयो,’ उनले भने, ‘त्यसैले अब देखि भने उहाँहरुको खातामा सोझै महानगरले नै तलब भत्ता पठाउँदा केही हदसम्म सहज हुने अपेक्षा छ ।’

महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले शिक्षक कर्मचारीले उपलब्ध गराएको नबिल बैंकको खातामा तलब पठाइने जानकारी दिए । विगतमा विद्यालयको खातामा तलब निकासा हुँदा समयमै तलब लिन शिक्षकहरुलाई झन्झट हुने गरेकोमा अब भने महानगरले शिक्षकहरुको समस्या बुझेर सोझै खातामा तलब जाने व्यवस्था मिलाएको पनि उनले बताए । 

‘संचय कोष, नागरिक लगानी कोष र बीमा रकम भने विद्यालय मार्फत नै भुक्तानी गर्नु पर्ने भएकाले त्यो बाहेक शिक्षकहरुले खुद पाउने तलब भने अब सोझै शिक्षककै खातामा जाने व्यवस्था मिलाएका छौँ,’ उनले भने । महानगरमा रहेका ९१ वटै सामुदायिक विद्यालयमा यस्तो व्यवस्था लागू हुने पनि उनले जनाए । 

त्रिजुद्ध माद्यमिक विद्यालयका प्रधानाध्यापक नविन मिश्रले वीरगञ्ज महानगरपालिकाले शिक्षकहरुको तलब मासिक रुपमा उनीहरुकै ब्यक्तिगत खातामा सोझै निकासा गर्ने व्यवस्था मिलाउनुलाई  प्रसंसनीय कदम मानेका छन् । उनले यस अघि शिक्षकहरुलाई निकै सास्ती हुने गरेको भन्दै अब भने निजामति र सेना–प्रहरी सरह नै मासिक सोझै खातामा तलब पाउने सुन्दा उत्साहित बनेको  प्रतिक्रिया दिए ।  

शिक्षकको व्यक्तिगत खातामा मासिक रुपमा सोझै तलब जाँदा शिक्षकको जिवन सहज बनाउने उनको विश्वास छ । वीरगञ्ज महानगरपालिकाले शिक्षकहरुले उठाउँदै आएको माग र उनीहरुको समस्या सम्बोधन गरेर सार्वजनिक शिक्षा सुधारको काम गरेको उनको बुझाई छ ।  

Back to top