×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्यसमिति पर्साले राजदूत नियुक्ति खारेज गर्न माग गरेको छ । जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको नेतृत्वमा बुधवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सरकारले गरेको राजदूत नियुक्ति खारेज गर्न माग गरेको हो । साथै समानुपातिक समावेशिकरणको माध्यमबाट राजदूत नियुक्त गर्न पनि जसपा नेपाल पर्साले माग गरेको छ । 

प्रधानमन्त्रीसँगै मधेश प्रदेशका मुख्यमन्त्रीलाइ पनि प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाइएको छ । जसमा वीरगञ्जस्थित मधेश विश्वविद्यालय, सप्तरीको राजबिराजस्थित कृषि विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक बजेट उपलब्ध गराउन दबाब दिइएको छ । 

शैक्षिक क्षेत्रको लागि लज्जास्पद बजेट बिनियोजन भएकोमा आपत्ती जनाउँदै जसपा नेपाल पर्साले आवश्यक बजेट बिनियोजन गरेर शैक्षिक कार्यक्रम र भौतिक संरचना निर्माण गर्ने वातावरण सृजना गर्न माग गरेको जसपा नेपाल पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । उनकाअनुसार शिक्षा क्षेत्रको सुधार बिना अरु क्षेत्रको सुधार कल्पना गर्न नसकिने हुँदा शैक्षिक क्षेत्रमा बजेट र आवश्यक कार्यक्रमका लागि पहल गरिएको हो । 

वर्तमान शिक्षा प्रणालीप्रति चिन्ता व्यक्त गर्दै जसपा नेपाल पर्साले शैक्षिक सुधारलाई प्राथमिकताका साथ अघि बढाएर देशका मेरुदण्ड मानिने युवालाई पलायन हुनबाट रोक्न पनि आग्रह गरिएको छ । मधेशको शिक्षा अवस्थालाई उकास्नका लागि गम्भिर भएर लाग्न पनि आग्रह गरिएको छ । 

ज्ञापन पत्र बुझाउन जसपा नेपाल पर्साका अध्यक्ष यादव, सचिव अहमदसँगै केन्द्रिय सदस्यहरु फिरोज मन्सुर, रेनु सिंह, प्रदेश कार्याकारिणी सदस्य बृजमोहन तिवारी, क्षेत्रीय अध्यक्ष घनश्याम बाबू गुप्ता, आमोद यादव, नगर अध्यक्ष निरन्जन पटेल, सचीव असलम आलम लगायतको उपस्थिती रहेको थियो ।  

 

Back to top