×

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको तीन दोबरी भएको फोनको प्रि–अर्डर २७ लाख थान पुगेको छ । कम्पनीले सोमबार आफ्नो वेबसाइटमा यसको जानकारी दिएको छ ।

कम्पनीले शनिबार मध्यरातिदेखि मेट एक्सटीको प्रि–अर्डर लिन सुरु गरेको थियो । यो भनेको अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १६ लञ्च गर्नु भन्दा दुई दिनभन्दा केही बढी समय अघि हो ।

चीनको समयअनुसार मंगलबार बिहान एप्पलले आइफोन १६ सिरिज लञ्च गर्दै छ । हुवावेईले यस अघि नै मंगलबार दिउँसो २ः३० बजे नयाँ प्रडक्ट लञ्च गर्ने घोषणा गरेको थियो ।

तर कम्पनीले अहिलेसम्म मेट एक्सटीको मूल्य सार्र्वजनिक गरेको छैन । कम्पनीले सेप्टेम्बर २० देखि यसको विक्री सुरु गर्दै छ । यस वर्षको दोस्रो त्रैमासमा चीनमा एप्पल शीर्ष पाँच स्मार्टफोन निर्माताको सूचिबाट बाहिरिएको बजार अनुसन्धान संस्था क्यानलिसको तथ्याङ्कले देखाएको छ ।

पहिलो पटक यो सूचिमा घरेलु कम्पनीहरूको वर्चस्व छ । समीक्षा अवधिमा १ करोड ६ लाख थान स्मार्टफोन बेचेको हुवावेई सूचिको चौथो स्थानमा छ ।

पहिलो त्रैमासमा चीनमा एप्पलले १ करोड थान स्मार्टफोन बेचेको थियो । अन्य चिनियाँ प्रतिस्पर्धी जस्तै हुवावेईले चीनमा दोबार्न मिल्ने र फ्लिप फोन बेचिरहेको छ । तर यी श्रेणीमा एप्पलले आफ्नो प्रडक्टलाई विस्तार गर्न सकेको छैन ।

Back to top