×

फाइल तस्बिर

पर्सा ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ स्थित गादी खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन् गरिरहेको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ । प्रदेश २०३००१ त ५८०८ नम्बरको उक्त ट्र्याक्टरले गिट्टी लोड गरेर ल्याइरहेको बेला विशेष सूचनाको आधारमा बन गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी, पटेर्वा सुगौली गाउँपालिका-४ स्थित भलुवाही खोलाबाट ट्र्याक्टर नम्बर मेटिएको नयाँ मोडलको New Holland ट्र्याक्टर पनि अवैध उत्खननमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिइएको छ । यो ट्र्याक्टरले पनि बालुवा लोड गरी ल्याइरहेको थियो।

दुबै ट्र्याक्टरलाई रंगपुर टाँडी सब डिभिजन बन कार्यालयका प्रमुख कपिलदेव यादवको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। गस्ती टोलीमा सब डिभिजन बन कार्यालय रंगपुर टाँडीका अन्य कर्मचारीहरू पनि सहभागी थिए।

प्रमुख यादवका अनुसार, पक्राउ परेका ट्र्याक्टरहरूलाई हाल सब डिभिजन बन कार्यालय रंगपुरमा राखिएको छ र यसबारे थप अनुसन्धान भइरहेको छ। उनले अवैध उत्खनन र यसमा प्रयोग हुने साधनहरूको नियन्त्रण र कारबाहीलाई थप कडाइ गर्ने जानकारी समेत दिएका छन्।

Back to top