×

वीरगञ्ज । नेकपा एमाले पर्साका प्रमुख नेताहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटघाट गरेका छन् । भेटघाटमा प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजरा, पर्सा जिल्ला अध्यक्ष डा. बिशम्भर शर्मा र सचिव महेश दास सहभागी थिए ।

भेटका क्रममा नेकपा एमाले पर्साका नेताहरूले जिल्लागत संगठनात्मक सुदृढीकरण, राजनीतिक परिस्थिति, र विकाससम्बन्धी मुद्दाहरूमा प्रधानमन्त्री ओलीसँग गहन छलफल गरेका छन् । पर्सा जिल्लाको विकास योजनाहरूमा केन्द्रको ध्यान आकृष्ट गराउने उद्देश्यले आयोजना गरिएको यो भेटलाई पार्टीका नेताहरूले अत्यन्त महत्त्वपूर्ण भनेका छन् ।

पर्सा जिल्ला अध्यक्ष डा. बिशम्भर शर्माले प्रधानमन्त्री ओलीलाई जिल्लाको राजनीतिक, संगठनात्मक अवस्था, र हालका चुनौतीहरूको विस्तृत जानकारी गराएका थिए। यस क्रममा प्रधानमन्त्रीसँग जिल्लाको विकाससम्बन्धी योजना तथा प्राथमिकताहरूमा पनि छलफल भएको थियो ।

पार्टीका सचिव महेश दासले प्रधानमन्त्री ओलीले पर्सा जिल्लालाई प्राथमिकताका साथ हेर्ने र सकेको सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए । साथै, प्रधानमन्त्रीले जिल्लाका विकास योजना शीघ्र कार्यान्वयनमा ल्याउन र संगठनलाई सशक्त बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Back to top