×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सहरलाई कुरूप बनाउने गरी बिजुलीका पोल र खाली भित्ताहरूमा जथाभाबी ब्यानर, पोस्टर, पम्पलेट टाँस्नेहरूमाथि कारबाही गर्न थालेको छ।

महानगरपालिकाले यसअघि नै पोस्टर र पम्पलेट जथाभाबी नटाँस्न आग्रह गर्दै आएको भए पनि अटेर गर्नेहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको हो। आइतबार राति पम्पलेट टाँस्दै गरेका एक जनालाई महानगरको सरसफाइ टोलीले समातेर प्रहरीले बुझाएको हो।

महानगरको सरसफाइ शाखा प्रमुख सर्फुद्धिन मियाँका अनुसार, वीरगञ्जका विभिन्न स्थानमा भारतीय चिकित्सकहरूको नाममा हाइड्रोशील, बवासिर, भगन्दर, चर्म रोग लगायतका रोगहरूको उपचार हुने भन्दै पम्पलेट टाँस्दै गरेको अवस्थामा लुधियाना, भारतका सञ्जय मलिकलाई नियन्त्रणमा लिइएको हो। उनलाई थप कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको छ।

महानगरपालिकाका अनुसार, शिक्षण संस्था, व्यावसायिक तालिम दिने संस्था, वैदेशिक अध्ययनमा पठाउने संस्थाहरू तथा भारतका झोले छाप चिकित्सकहरूले सहरका सार्वजनिक स्थानहरूमा जथाभाबी प्रचार सामग्री टाँस्ने क्रम बढेको छ। यसले सहरको सौन्दर्यमा नकारात्मक असर पारेको भन्दै महानगरले कडा रूपमा कारबाही गर्न थालेको छ।

सरसफाइ शाखा र नगर प्रहरीको संयुक्त टोलीले नियमित अनुगमन गर्दै कारबाही अघि बढाइरहेको छ। पर्खाल, बिजुलीका पोल, बसपार्क, बस स्टपलगायतका स्थानमा जथाभाबी पम्पलेट र पोस्टर टाँस्न नदिने र यस प्रकारका सामग्रीहरू हटाउन विशेष अभियान चलाइएको छ। मियाँले भने, "महानगरलाई सफा र सुन्दर बनाउन हामी विशेष योजनाका साथ क्रियाशील छौँ। टाँस्ने र टाँस्न लगाउने दुवैलाई नियमअनुसार कारबाही गर्नेछौँ।"

महानगरले चेतावनी दिएको छ कि यदि अब जथाभाबी पोस्टर वा पम्पलेट टाँस्नेमध्ये कसैलाई फेला पारिएमा तुरुन्तै नियन्त्रणमा लिई कडा कारबाही गरिनेछ।

Back to top