×

बिपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री थिए । नेपालमा सन् १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको पार्टी नेपाली काँग्रेसले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत ल्याएको थियो । बिपीका धेरै प्रगतिशील नीति र कार्यक्रमहरूको घोषणा बाट त्यस बेलाका राजा महेन्द्रलाई खपी नसक्नु भयो र १५ डिसेम्बर, १९६०  अठार महिनाको प्रजातान्त्रिक सरकारलाई राजा महेन्द्रले कु गरेर सत्ता आफ्नो हातमा लिए । र बिपीलाई आठ वर्षसम्म कैद सजाय गरियो । यो एउटा विचार र सिद्धान्तको  गिरफ्तारी थियो राजाले बिपीलाई गिरफ्तार गर्दा उनले व्यक्तिलाई होइन, एउटा विचारका रूपमा पक्राउ गरे र राजाको व्यक्तिगत इच्छा र महत्त्वाकाङ्क्षालाई परिपूर्ति गर्न यो कदमा चाले ।  बी.पी. कोइराला सन् १९६८ मा रिहा भए र आठ वर्ष भारतमा निर्वासनमा बस्न बाध्य भए । 

यो समय अमेरिका र युएसएस आरको बिचको चरम शीतयुद्धको समय  थियो। साठी  र सत्तरीको दशकको उत्तरार्धमा परिवर्तनको नयाँ लहर द्रुत गतिमा चलिरहेको थियो र दक्षिण एसिया यसको केन्द्र बनेर नयाँ भूराजनीति बनिरहेको थियो। बिपीका राजनैतिक आयामलाई हामीले विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्न सक्छौ। यहाँ म वहाँको साहित्यिक उचाइको बारेमा उल्लेख गर्न चाहन्छु: 

बिपी कोइराला ( १९७१-२०३९) को परिचय राजनीतिक द्रष्टा मात्र होइन । उनले साहित्यिक सृजनामा पनि आफ्नो एक पृथक् स्थान बनाउन सफल भएका व्यक्तित्वका रूपमा लिने गरिन्छ । त्यस बेलाको सामाजिक चेतनाको स्तर नै नभएको समयमा यौन विषयमा साहित्य सृजना गर्नु आफैमा एउटा सामाजिक क्रान्तिको बिगुल नै थियो ।

राजनीतिमा प्रजातान्त्रिक समाजवाद उनको धार हो भने साहित्यमा उनी मनोविश्लेषणवादी र अस्तित्ववादी स्रष्टा हुन । बहुमुखी साहित्य स्रष्टा विश्वेश्वर प्रसाद कोइराला नेपाली साहित्यका कविता, जीवनी , निबन्ध, आलोचना र पत्र आदी विद्यामा रुचि देखाए पनि उनी मूलतः आख्यानकार हुन । आधुनिक नेपाली कथामा नवीन मनोवैज्ञानिक धारा र प्रवृत्तिहरूको प्रवर्तन र प्रवर्द्धन गरी कोइरालाले युगान्तकारी र युग प्रवर्तक कथाकारको रूपमा आफूलाई चिनाउन सफल भएको पाइन्छ । कोइरालाका उपन्यासहरू उनको जीवन चिन्तनका कलापूर्ण अभिव्यक्ति हुन ।

उनलाई नेपालको सबैभन्दा केरिसमेटिक  ( कारीश्मामय) नेताको रूपमा लिइने गरिन्छ । उनी नेपाली साहित्यका त्यस बेलाका सबैभन्दा धेरै पढेका र बिचार सिल साहित्य स्रष्टाको रूपमा चिनिन्छ । सुरुमा उनले छोटो कथा, र कविता लेख्न सुरु गरे । उनले हिन्लदीमा घुकथा लेख्न सुरु गरे । उनका पहिलो कथाहरू प्रेमचन्द द्वारा सम्पादन गरिएको साहित्यिक पत्रीका हन्समा प्रकाशित भएका थिए। उनको पहिलो नेपाली लघुकथा " चन्द्रवदन" सन १९३५ मा नेपाली साहित्यिक पत्रीका शारदामा प्रकाशित भएको थियो। उनी नारीको चरित्र र मनको चित्रण गर्न निकै सिपालु मानिनछन् ।

सन् १९३८ मा दार्जिलिङबाट प्रकाशित कथा कुसुम (नेपाली कथाहरूको सङ्ग्रह) मा कोइरालाका अन्य चार कथाहरू समावेश गरिएका थिए। नेपाली साहित्यको इतिहासमा मानव मनोविज्ञानमा आधारित कथा र उपन्यास लेख्ने पहिलो लेखक भएकाले राम्रो मनोवैज्ञानिक अन्तर्दृष्टि भएका सामाजिक यथार्थवादीका रूपमा कोइरालाले सन् १९३८ सम्ममा आफूलाई सबैभन्दा महत्त्वपूर्ण नेपाली लघुकथा लेखकका रूपमा स्थापित गरेका थिए। दोषी चस्मा, कोइरालाको सोह्र लघुकथाहरूको सङ्ग्रह, सन् १९४९ मा प्रकाशित भएको थियो। उनी नेपाली साहित्यमा योगदान दिने सबैभन्दा महान् लेखक मध्ये एक हुन भन्दा केही फरक नपर्ला । 

राजनीतिक माध्यमबाट जीवनको विजयेच्छा ( जिगीषा) चाहने कोइरालाले साहित्य र उपन्यासको माध्यमबाट जीवनको चाहना (जिजीविषा) चाहेका छन् । आधुनिक नेपाली चिन्तकका रूपमा कोइरालाले मानव जीवन र खास गरी नेपाली जीवनका सबै क्षेत्रमा स्पष्ट दृष्टि निर्माण गरे । पूर्वीय र पाश्चात्य चिन्तन तथा साहित्यको अनुशीलनबाट उनमा यस्तो स्पष्ट दृष्टिको विकास भएको हो भन्दा केही फरक नपर्ला। उनका सृजनामा फ्रायडवादको ठुलो प्रभाव देखिन्छ । 

सुन्दा आश्चर्य लाग्छ उनको साहित्यिक यात्रााको समय भनेको २०१७ देखी २०२५ सम्म मात्र हो। कारावास बसाइको त्यो अवधिलाई उनले भरपुर सदुपयोग गरे । यस अवधिमा उनले छ वटा उपन्यास लेखे। प्रकाशनका दृष्टिले पहिलो उपन्यास तीन घुम्ती (२०२५) हो भने अन्त्यको उपन्यास बाबु, आमा र छोरा (२०४५) हो। उनका अरू ४ वटा उपन्यासहरू यस प्रकार छन् : नरेन्द्र दाइ , सुन्नीमा , मोदिआइन र हिट्लर र याहूदी ।  

उनी यती विलक्षण प्रतिभाका धनी थिए कि ३ देखी ८ दिनको बिचमा उनी एउटा उपन्यास नै लेखी सक्थे। छोटकरीमा भन्दा बिपीको उपन्यास लेखनमा उनकै प्रतिभा व्युत्पती र अभ्यास तथा कारावशको वातावरण मूल कारक र अनु प्रेरक रहेका छन् । 

२०२५ देखि २०२७ सम्मको अवधिलाई उनको पहिलो चरणको रूपमा लिइन्छ भने २०३६ देखी २०४५ सम्मको करिब एक दशक दोस्रो चरणको  रूपमा लिइन्छ । 
उनका प्रत्येक उपन्यासमा कुनै न कुनै रूपमा मानवीय समस्या , नियति, अस्तित्व र चिन्तनलाई सर्वोपरि महत्त्व दिइएको पाइन्छ। 

उनको तीन घुम्तीमा नारीको जीवनमा आइपरेको विभिन्न सङ्कटका बारेमा व्याख्या गरिएको छ । नारी अस्तित्वका समस्याको खोज र नियतिले देखाएको समस्याहरूको भोक्ता नारी आफैँ हो भन्ने चिन्तनमा इन्द्रमायालाई प्रस्तुत गरिएको छ। 

नरेन्द्र दाइ मानव नियतिको सफल अभिव्यक्ति हो। । यस उपन्यासका पात्रहरू नरेन्द्र , गौरी , मुनरिया कसैकोपनी दोष देखिँदैन तर उनीहरू पूर्णतः दोषी बनेका छन् । कोही कसैसङ र स्वयममा सन्तुष्ट छैनन् । 

सुन्नीमा कोइराला लेख्छन् आध्यात्मिक र भौतिक तत्त्वको सहअस्तित्वमै मानव जीवनको पूर्णता र सफलता निर्भर छ । किराँती कथालाई आधार मानी लेखिएको यस उपन्यासमा " सर्वधर्मसमन्वय" को दर्शन अभिव्यक्त भएको छ । यस उपन्यासले जातीय । सांस्कृतिक , भाषिक र मानवीय सह-अस्तित्वको कलात्मक सन्देश दिन्छ भने मानिसलाई कृत्रिम दैविव्रीत्ती छाडेर सहज मानवब्रित्ती अंङ्गीकार गरी जीवनको गतिलाई अगाडि बढाउन पनि सल्लाह दिन्छ । 

उनका मोदिआइन तथा हिट्लर र यहुदी उपन्यासहरू गीता दर्शनमा आधारित छन् । कोइरालाका यी दुई उपन्यासहरूमा एउटाले नेपाली सन्दर्भ लिएको छ भने अर्को ले अन्तर्राष्ट्रिय । उनले धर्मनिरपेक्ष रूपमा गीताको अध्ययन गरी उपन्यासको माध्यमबाट आफ्नो नवीन दृष्टि प्रकट गरेका छन् । धर्मनिरपेक्ष भएर गीताको अध्ययन गर्दा त्यहाँ कर्तव्यपालन , धर्म रक्षा र राष्ट्रवादको नाममा अतिमानविय शक्तिद्वारा अभिप्रेरित र निर्देशित नरसंहार , मानवताको अपमान र विध्वंसकारी युध्दविभिषिकाको द्रिष्य देखिन्छ । उनका यी सृजनाहरूबाट कोइराला भन्न चाहन्छ कि हामी ठुलो मान्छे होइन असल मान्छे बन्नु पर्छ । 

उनको अन्तिम उपन्यास बाबु, आमा र छोरा ले मानव नियतिको प्रबलतम नमुना र कठोर दण्डको कलात्मक अभिव्यक्ति पाइन्छ । यस उपन्यासमा चिन्तनमूलक, तर्कपूर्ण र संस्मरणात्मक अभिव्यक्तिद्वारा नियतिको सिकार नायिकाको उमेरका तीन मनोदशाको अध्ययन गरिएको छ । उपन्यासकी मुल पात्र उमा भाग्यको ( नियतिको) दिशानिर्देशमा तीन वटा निर्णय लिन बाध्य हुन्छिन् । त्यसैले यस पुस्तकको सुरुमा नामकरण " त्रिभङगा उमा" थियो तर पछि प्रकाशित हुँदा यसको नाम बाबु, आमा र छोराको नाममा पाठकहरूको माझ आइपुग्यो ।

कोइराला प्रजातान्त्रिक समाजवादी राजनीतिक चिन्तक र विश्लेषक हुन भने उनकै शब्दमा उनी साहित्यतर्फ उनी अराजकतावादी हुन। उनी साहित्यकारका रुपमा एक बहुमुखी प्रतिभा हुन भने मनोवैज्ञानिक कथा लेखन र वैचारिक उपन्यास लेखन उनका विशिष्ट उपलब्धिहरू हुन । साहित्यका तर्फबाट उनले पूर्वीय तथा पाश्चात्य चिन्तन, दर्शन र कलाको अध्ययनबाट वर्तमान मानव समाज र विशेष गरी नेपाली समाज सापेक्ष मौलिक चिन्तनको विकास गरी आफ्नो कुशल साहित्य शिल्पका माध्यमबाट त्यसलाई संयोजन गरेका छन् । 

कोइरालाका सबै कृतिमा कतै पश्चिमी कतै पूर्वीय दर्शन र चिन्तनको प्रभाव देखिए पनि कुनै एक धर्म र दर्शनको एकपक्षीय यथावत् प्रयोग गर्न यी कृतिहरू लेखिएको पाइँदैन , बरु सबै धर्म र दर्शनको सार समाहित गरेर मौलिक मानवीय जीवन मुल्यलाई औपन्यासिक शिल्प प्रदान गर्न लेखिएका छन् ।  

अन्त्यमा, 

लोकतान्त्रिक आन्दोलनको गतिमा  उनको राजनीतिक कोर्सलाई अग्रगामी चिन्तनको रूपमा लिइन्छ। उनले आफ्नो जीवनको अधिकांश समय अधिनायकवादी राजनीतिको विरुद्धमा बिताए। राणा र पञ्चायतको कोप भजनबाट उनले धेरै दुःख पाए। वास्तवमा उहाँले लामो समय जेल र निर्वासनमै बिताउनु भयो । तथापि एक राजनीतिज्ञको रूपमा र एक साहित्य स्रष्टाको रूपमा वहाँले आफ्नो बेग्लै पहिचान बनाउनु भयो । विश्व मानचित्रमा वहाँलाई संसारका सबै मुलुकमा एक प्रेरक राजनीतिज्ञ र साहित्यकारको रूपमा लिइने गरिन्छ । हामी नेपालीलाई सधैँ सधैँ वहाँले गर्विलो बनाउनु भएको छ ।

Back to top