×

वीरगञ्ज । सरकारको कामको मूल्याङ्कन र सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउनेलगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक आज बस्ने तयारी भएको छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबिच बालुवाटारमा विस्तृत छलफल भएको थियो।

छलफलमा सरकारले सञ्चालन गर्नुपर्ने न्यूनतम साझा कार्यक्रम तयार गर्न काँग्रेस र एमालेबिच कार्यदल गठन गर्ने सहमति भएको थियो। काङ्ग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रकाश शरण महत तथा एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल कार्यदलमा रहने निर्णय गरिएको थियो।

सङ्घीय संसद्का दुई ठूला दल, नेपाली काँग्रेस र नेकपा एमालेबिच असार १७ गते सहमति भएअनुसार, असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। यस बैठकबाट न्यूनतम साझा कार्यक्रम तय गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार, उक्त बैठकमा आगामी दिनमा सरकारले गर्नुपर्ने प्राथमिक काम र नीति तय गरिनेछ।

Back to top