×

वीरगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रान्तिका गतिविधिहरू भइरहेको भन्दै यस्ता प्रयासविरुद्ध पुनः संघर्ष आवश्यक भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसको अवसरमा सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भएका प्रतिकूल गतिविधिहरूलाई रोक्न संघर्ष गर्नुपर्ने बताए।

अध्यक्ष प्रचण्डले क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै, हालको व्यवस्थालाई उपभोग गरिरहेकाहरूले नै क्रान्ति र क्रान्तिकारी आन्दोलनलाई अपमान गर्ने प्रयास गरेको आरोप लगाए। "हामीले गरेको जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्षको रूपमा उल्लेख गरिएको छ। तर, अहिले यही व्यवस्थामा बसेर जनयुद्धलाई अपमान गर्ने काम भइरहेको छ," उनले भने।

प्रचण्डले जनयुद्धको महत्व र त्यसले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन फेरि संघर्षको आवश्यकता रहेको बताए। शान्ति प्रक्रियामा सहभागी हुनु अघि नै आफूहरूले गणतन्त्र आएपछि दलाल पूँजीपति र नोकरशाहीसँग संघर्ष हुने भविष्यवाणी गरेको स्मरण गर्दै उनले भने, "गणतन्त्र त आयो, तर दलाल पूँजीपति र नोकरशाही वर्गले बुर्जुवा गणतन्त्र बनाउन खोजिरहेका छन्। हामीले जनताको गणतन्त्र बनाउन संघर्ष गर्नुपर्ने भएको छ।"

अध्यक्ष प्रचण्डले नेपाली मौलिकतामा आधारित पूँजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषविरुद्धको संघर्ष अपरिहार्य भएको स्पष्ट पारे।

उनले विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा आफूहरू बलियो भएकाले संघर्षमा विजयी हुने विश्वास व्यक्त गरे।

Back to top