×

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्नु सरकारको उच्च प्राथमिकता रहेको बताएका छन्। अन्ठाउन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र विद्यालय उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षाको अवसर जुटाउने सरकारको योजना रहेको उल्लेख गरे।

प्रधानमन्त्रीले अनिवार्य तथा निःशुल्क शिक्षा पाउने नागरिकको मौलिक हकलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै यसका लागि अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा रहेको र साक्षरता तथा आजीवन सिकाइ कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले स्थानीय तहको महत्त्वपूर्ण भूमिकाको चर्चा गर्दै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न एकताबद्ध प्रयासको आवश्यकता औँल्याए।

गरीबीका कारण तराई र दुर्गम क्षेत्रका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सफलता पाउन नसकेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा राष्ट्रव्यापी विद्यार्थी भर्ना अभियान सुरु गरिएको स्मरण गराए। उनका अनुसार, विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीति साक्षरता अभियानलाई सार्थक बनाउन सहयोगी बनेको छ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट बाहिरिन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति, र अन्य प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको बताए। यी कार्यक्रमहरूलाई अझ सुधार गर्दै लैजाने योजना रहेको पनि उनले स्पष्ट पारे। पछिल्लो समयमा साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु नेपालका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

"विश्व अहिले सूचना प्रविधिको युगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो," प्रधानमन्त्री ओलीले भने। प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकार योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको र शिक्षालाई रोजगार तथा स्वरोजगारसँग जोड्नुपर्ने उनले बताए। यस कार्यमा निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, र सबैको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने ओलीले जोड दिए।

प्रधानमन्त्री ओलीले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सबैको योगदान महत्त्वपूर्ण रहेको बताए। "नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदैछ र 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शिक्षा क्षेत्रको ठूलो योगदान हुनेछ," उनले भने।

प्रधानमन्त्री ओलीले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारासमेत उल्लेख गर्दै शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा, र आपसी समझदारीका लागि यो दिवस प्रेरणादायी हुने कामना व्यक्त गरे।

Back to top