×

वीरगञ्ज । सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेका सेवाग्राहीहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद प्रदान गर्ने भएको छ। स्मार्ट कार्ड वितरणमा आएको ढिलाइका कारण सरकारले नयाँ विकल्पका रुपमा फोटोसहितको रसिद दिन थालिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका अनुसार स्मार्ट लाइसेन्स वितरणमा भइरहेको समस्यालाई समाधान गर्न यो नयाँ प्रणाली लागू गरिएको हो। १५ लाख सेवाग्राहीले ट्रायल पास गरे पनि अझै स्मार्ट कार्ड प्राप्त गर्न नसकेको स्थितिमा सरकारले क्यूआर कोडसहितको रसिद दिने निर्णय गरेको छ।

ट्राफिक प्रहरीलाई क्यूआर कोड पढ्नका लागि आवश्यक मेसिन पनि उपलब्ध गराइने भएको छ। यातायात व्यवस्था विभागको हालको मेसिनले नयाँ खरिद गरिएका कार्ड रिड गर्न नसक्दा यो समस्या उत्पन्न भएको हो।

यसबाहेक संघीय सरकारले अत्यावश्यक बाहेकका अन्य कार्ड प्रदेशमै छाप्न आग्रह गरेको छ। बागमती प्रदेशले आफैं कार्ड छाप्न थालेपछि अन्य प्रदेशहरुले पनि यसको तयारी गरिरहेको बताइएको छ।

समस्या समाधानका लागि संघीय सरकारका भौतिकमन्त्रीको संयोजकत्वमा एक विशेष समिति गठन गरिएको छ। एक वर्षको अवधिमा सामान्य सवारी चालक अनुमतिपत्र वितरणमा देखिएको ढिलाइका कारण सरकारको कार्यसम्पादनमा प्रश्न उठिरहेको छ।

Back to top