×

वीरगञ्ज । आज देशभरका हिन्दू नारीहरूले सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पञ्चमीका रूपमा मनाइन्छ। हिन्दू धर्मशास्त्रअनुसार, महिलाहरूले यस दिन ऋषिहरूको पूजा गरेर रजस्वलाका समयमा भएका कुनै त्रुटीबाट मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

यस अवसरमा महिलाहरूले बिहानै उठेर नजिकका नदी, खोला, पोखरीलगायतका जलाशयहरूमा स्नान गर्छन्। परम्पराअनुसार, उनीहरूले ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन रहेको छ।

तीजको व्रत र पूजा नारी–पुरुष दुवैले गर्न सक्ने भए पनि ऋषि पञ्चमीको पूजा भने महिलाहरूका लागि मात्र गर्नुपर्ने धार्मिक मान्यता छ। ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषि - अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप, र विश्वामित्रको पूजा गरेर रजस्वलाका समयमा भएका दोषबाट मुक्ति पाइने विश्वास गरिन्छ।

वीरगञ्ज लगायत देशभरका महिलाहरूले आजको दिनलाई विशेषरूपमा मनाउँदैछन्।

Back to top