×

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) पर्सागढी नगर समितिद्वारा आयोजित विस्तारित बैठक र वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ को कार्यालयद्वारा आयोजित सम्मान कार्यक्रममा सहभागिता जनाउँदै स्थानीय जनप्रतिनिधि, कार्यकर्ता र आम जनतासँग विकासको एजेन्डामा महत्त्वपूर्ण संवाद गरेका छन् । 

पर्सागढी नगरपालिकामा आयोजित जसपाको विस्तारित बैठकमा मन्त्री यादवले पार्टी सङ्गठन सुदृढीकरण, जनताको अधिकार र समृद्धिको दिशामा सरकार र पार्टीले लिएका रणनीतिहरूमा गहन छलफल गरेका हुन् । 

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, “समाजवादको मार्गदर्शनमा, हामीले जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पर्सागढीको विकास र समृद्धिका लागि हामीले ठोस योजनाहरू बनाएर तिनको कार्यान्वयनमा दृढतापूर्वक लाग्न आवश्यक छ ।”

जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले अगाडि थपे, “स्थानीय जनताका समस्याहरूलाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ । पर्सागढीको विकाससँगै, हामी जनताको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष योजना लिएर आउने छौँ ।”

त्यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीले सङ्गठनात्मक संरचना सुदृढ गर्दै जनताको समस्याको निराकरणमा ध्यान दिनु अहिलेको प्राथमिकता रहेको बताए ।  

जसपाको केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहले भने, “पर्सागढी नगरपालिकालाई समृद्धि र विकासको नमुना बनाउने जसपाको योजनामा सबैको सहयोग अपरिहार्य छ ।” उनले जनताको अधिकार संरक्षण र समाजवादी सिद्धान्तमा आधारित योजनाहरूलाई सफल बनाउन जनतासँगको संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

बैठकमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, पर्सागढी नगरपालिकाका मेयर पदका प्रत्याशी सुरज मानन्धर, विभिन्न वडाका अध्यक्ष, पूर्व अध्यक्ष तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै मन्त्री यादव वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा आयोजित सम्मान कार्यक्रममा सहभागी हुँदै स्थानीय जनप्रतिनिधि र कार्यकर्तासँग सौहार्दपूर्ण छलफल गर्दै जनताका गुनासा, अपेक्षाहरू, र भविष्यका विकासका एजेन्डाहरूबारे विचार विमर्श गरेका छन् । 

उनले भने, “जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी आगामी दिनमा वीरगञ्जलाई समृद्ध र विकासको मोडेल सहर बनाउने योजना लिएर आएका छौँ । यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ ।”

मन्त्री यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का जनप्रतिनिधिहरूलाई सशक्त बनाउन र जनताको सेवामा अझ नजिक हुन आग्रह गरे । उनले स्थानीय स्तरको विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै थपे, “सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छ ।”

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले मन्त्री यादवको नेतृत्वमा स्थानीय विकास योजनाहरू प्रभावकारी ढङ्गले अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन् । 
 

Back to top