×

वीरगञ्ज । वीरगञ्जको लिंकरोडस्थित कुमु प्यालेसको छेउमा स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिकले आधिकारिक रुपमा आफ्नो सेवा विस्तार गरेको छ। यसअघि लिंकरोडकै अर्को स्थानमा सञ्चालित यो क्लिनिक अहिले थप परिस्कृत र अत्याधुनिक सेवाहरूका साथ नयाँ स्थानमा स्थापना भएको हो। दन्त स्वास्थ्य सेवामा नवीनतम प्रविधिहरू समावेश गर्दै, यस क्लिनिकले वीरगञ्जका स्थानीयबासीलाई गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्य राखेको छ।

शनिवार बिहान आयोजित उद्घाटन समारोहमा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सयुँक्त रुपमा क्लिनिकको उद्घाटन गरे। उद्घाटन समारोहमा प्रमुख अतिथि यादवले क्लिनिकका सेवाहरूको प्रशंसा गर्दै भने, "दन्त स्वास्थ्य मानिसको समग्र स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूर्ण छ। वीरगञ्जजस्तो ठुलो सहरमा यस किसिमको अत्याधुनिक सुविधासम्पन्न क्लिनिकको स्थापना हुनु स्वागतयोग्य कदम हो। यसले नागरिकहरूको दन्तसम्बन्धी समस्याहरूलाई समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।"

मेयर सिंहले पनि आफ्नो मन्तव्य राख्दै वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको बताउँदै भने, "महानगरको दन्त स्वास्थ्यको आवश्यकतालाई ध्यानमा राख्दै स्माईल डेन्टल केयरको सेवा नागरिकहरूका लागि महत्त्वपूर्ण सहयोगी साबित हुनेछ। वीरगञ्जको जनसङ्ख्यालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने महानगरको प्रतिबद्धता अन्तर्गत, यस क्लिनिकले उत्कृष्ट सेवा पुर्‍याउनेछ।"

कार्यक्रमका दौरान, स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिकका प्रबन्ध निर्देशक डा. आमिर आलमले क्लिनिकको सेवा सुविधाबारे जानकारी दिँदै भने, "करिब ३० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको यस क्लिनिकले आरसिटी (रूट क्यानल ट्रीटमेन्ट), क्याप लगाउने, डेन्टल इम्प्लान्ट, ब्रासेस जडान, अर्थोडोन्टिक उपचारजस्ता अत्याधुनिक दन्त सेवाहरू उपलब्ध गराउँछ। यस क्लिनिकको उद्देश्य वीरगञ्जका नागरिकहरूलाई गुणस्तरीय र सहज उपचार प्रदान गर्नु हो।"

आमिर आलमले थप्दै भने, "हामी यस क्षेत्रको प्रमुख दन्त स्वास्थ्य केन्द्र बन्न चाहन्छौं। दन्तसम्बन्धी सबै प्रकारका समस्याहरूको उपचार गर्न हामी सक्षम छौं। यस क्लिनिकमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, र हाम्रो समूह सेवाको गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन।"

कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, पूर्व मन्त्री करिमा बेगम, जिल्ला समन्वय समितिका पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, पर्सागढी नगरपालिकाका कार्यापालिका सदस्य अस्लम आलम, जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई  लगायतका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। सबै अतिथिहरूले वीरगञ्जमा स्वास्थ्य सेवाको विस्तारमा यस क्लिनिकको योगदानको प्रशंसा गरे।

करिब ३० लाख रुपैयाँको लगानीमा सञ्चालित यस स्माईल डेन्टल केयर एण्ड पोलिक्लिनिकले वीरगञ्ज र वरपरका क्षेत्रका बासिन्दाहरूलाई दन्तसम्बन्धी हरेक प्रकारका सेवाहरू एकै ठाउँमा उपलब्ध गराउने योजनासहित सञ्चालनमा आएको छ। क्लिनिकले बिरामीहरूको सहजता र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै, उत्कृष्ट सेवाका साथ स्वास्थ्य क्षेत्रमा योगदान गर्ने लक्ष्य राखेको छ।

Back to top