×

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय वीरगञ्ज पर्साको आयोजनामा २१औं निजामती सेवा दिवस २०८१ विविध कार्यक्रमसहित मनाइएको छ। ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगर-१०, वीरगञ्जको सहकार्यमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा विभिन्न जातका बिरूवाहरू रोपण गरी दिवस मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले बिरूवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा वीरगञ्ज भन्सारका प्रशासक प्रमुख विनय कुमार श्रीवास्तव, सहायक प्रमुख जिल्ला अधिकारी उतम कुमार घिमिरे, जिल्ला प्रशासन कार्यालय पर्साका दीपक लामिछाने, बाल सुधार गृह पर्साका अमृत अधिकारी, कारागार पर्साका जेलर अशोक कुमार रौनियार लगायतका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष दिलीप कुमार सिंह, अनुसन्धान कार्यालय वीरगञ्जका गौरीशंकर गुप्ता, नेपाल निजामती कर्मचारी युनियन पर्साका प्रमुख धन बहादुर बरुवाल, सुरक्षा बन्दरगाह कार्यालयका सुशील प्रसाद शर्मा, कृषि ज्ञान केन्द्रका प्रमुख कमल देव प्रसाद कुर्मी, घरेलु तथा साना उद्योग कार्यालयका हिमाल लम्साल लगायत विभिन्न सरकारी निकायका प्रमुखहरू तथा पदाधिकारीहरूले कार्यक्रममा आफ्नो उपस्थिति जनाएका थिए।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सचिव राकेश अग्रवाल र सदस्य रतन टेमानीको पनि विशेष उपस्थिति रहेको थियो भने सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी अधिकृत प्रेम राम र अमर सिंह साउदले सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले यस वर्षको निजामती सेवा दिवस वातावरण संरक्षणमा योगदान दिने उद्देश्यले बिरुवा रोपण कार्यक्रममार्फत मनाएको हो। कार्यक्रमको उद्देश्य वातावरणीय संरक्षण तथा हरित शहर निर्माणमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ।

Back to top