×

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। महासंघको कार्यालयमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा पारा ओलम्पिकमा कांस्य पदक जित्न सफल पलेशा गोवर्द्धनलाई सम्मान गर्दै ढकालले यस्तो धारणा राखेका हुन्।

महासंघले पलेशालाई ३ लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार रुपैयाँ, र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको छ। ढकालले पेरिस ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जित्ने पलेशालाई अझ बढी प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताउँदै, निजी क्षेत्रका अन्य संस्थाहरूले पनि पलेशाजस्ता प्रतिभाशाली खेलाडीलाई सम्मान गर्नुपर्नेमा जोड दिए।

उनले पलेशाको जितले खेलकुद क्षेत्रमा संलग्न खेलाडीहरूलाई ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाउँदा अत्यन्त खुशी लागेको बताइन्। उनले पदकसँगै आफूले एउटा ठूलो उद्देश्य पूरा गरेको महसुस गरेको र सबैको साथ र सहयोगले आगामी ओलम्पिकमा पनि पदक जित्ने आशा व्यक्त गरिन्। पलेशाले आफ्नो मेडल यात्रा अझ उचाइमा पुर्‍याउन राज्य र निजी क्षेत्रको निरन्तर समर्थनको आवश्यकता रहेको बताउँदै, असम्भव केही नभएको दृढता व्यक्त गरिन्।

कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Back to top