×

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानविपरीतका अभिव्यक्तिहरू दिने सत्तारुढ दलका नेताहरूमाथि भण्डाफोर गर्न आफ्ना कार्यकर्तालाई आव्हान गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले जनयुद्धको योगदानलाई कमजोर बनाउन खोज्ने र गलत रूपमा व्याख्या गर्ने प्रवृत्तिविरुद्ध कडा आलोचना गरे।

वीरगञ्ज । प्रचण्डले जनयुद्धलाई संविधानले सशस्त्र संघर्षको रूपमा परिभाषित गरेको उल्लेख गर्दै केही नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, र आतंकको रूपमा चित्रण गर्न खोजेको बताए। उनले भने, "संविधानमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने स्पष्ट रूपमा लेखिएको छ, तर कतिपय नेताहरू संविधानविपरीत बोलिरहेका छन्। यस्ता नेताहरूको भण्डाफोर गर्न जरुरी छ।"

कार्यक्रममा प्रचण्डले जनयुद्धका शहीदहरूको सम्मानका लागि पार्टीले लगातार काम गरिरहेको बताए। उनले पछिल्लो प्रधानमन्त्री कार्यकालमा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको मान्यता दिने निर्णयहरूलाई राजपत्रमा प्रकाशित गरिएको जानकारी पनि गराए।

प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको भए पनि अदालतले शान्ति प्रक्रिया नसकिएको भन्दै रोक लगाएको जानकारी दिए। उनले टीआरसी विधेयक पारित भएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मान्यता दिनेमा आफू विश्वस्त रहेको बताए।

अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समिति बैठकबाट सहिदको स्मृति दिवसलाई एकरुपता दिने निर्णय गरिने जानकारी पनि दिए।

उनले कार्यकर्ताहरूलाई परिवर्तनविरोधी शक्तिहरूको ज्यादती र अपमानको विरोध गर्न तयार रहन निर्देशन दिए।

Back to top