×

ओपनर ट्रेभिस हेड चम्किएपछि अस्ट्रेलियाले स्कटल्यान्डविरुद्धको पहिलो टी–२० मा ७ विकेटको सहज जित निकालेको छ।

गएराति राति एडिनबर्गमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले ९ विकेट गुमाउँदै एक सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा अस्ट्रेलियाले ९ दशमलव ४ ओभरमै ३ विकेट गुमाएर भेट्टायो।

योसँगै तीन खेलको शृंखलामा अस्ट्रेलियाले १–० ले अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार तथा तेस्रो खेल ७ सेप्टेम्बरमा हुनेछ।

अस्ट्रेलियाको जितमा हेडले २५ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ८८ रन बनाए। कप्तान मिचेल मार्सले १२ बलमा ३९ तथा जस इङ्लिसले २७ रनको योगदान गरे। स्कटल्यान्डका मार्क वाटले दुई विकेट लिए। 

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डको लागि चार्लिस कासेल र जस्पर डेभिडसनले डेब्यु गरेका छन्।

ओपनर जर्ज मुन्सेले सर्वाधिक २८ रन बनाए। म्याथु क्रसले २७, कप्तान रिची बेरिंघनले २३ तथा ब्रान्डन म्याकमुलनले १९ रनको योगदान गरे।

अस्ट्रेलियाका सेन एबोटले सर्वाधिक तीन तथा जाभियर बार्टलेट र एडम जाम्पाले समान दुई विकेट हात पारे।

Back to top