×

सलमान खानको घरमा फायरिङ गरेको आरोपमा जेलमा रहेका विक्की गुप्ता र सागर पालले आफ्नो हत्या हुने डर व्यक्त गरेका छन् । समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै आरोपितका वकिलले दुवैले जेलका अधिकारीहरूलाई यसबारे जानकारी गराएको बताएका हुन् ।

उनीहरूको परिवारले महाराष्ट्र र बिहार सरकारसँग सुरक्षाको माग पनि गरेका छन् । अन्डरवर्ल्ड डन दाउद इब्राहिमका गुन्डाहरूले विक्की र सागरको हत्याको योजना बनाएको उनीहरूको दाबी छ । यद्यपि, वकिलले दुई जनालाई जेलमा कसरी धम्की दिइयो भन्ने चाहिँ खुलाएनन् ।

Untitled-2

गत १४ अप्रिलमा मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली प्रहार भएको थियो । प्रहरीले यस घटनामा बिहारको पश्चिमी चम्पारणको मझरिया निवासी विक्की र सागरलाई पक्राउ गरेको थियो । उनीहरू मुम्बईको तलोजा सेन्ट्रल जेलमा बन्द छन् ।

अहिले विक्की गुप्ताका भाइ सोनु गुप्ता र सागर पालका भाइ राहुल पालले सरकारलाई पत्र लेखेका छन् । यस घटनाका अर्का आरोपी अनुज थापनको जस्तै हालत विक्की र सागरको हुने उनीहरूको आशङ्का व्यक्त गरेका छन् । 

अनुजको गत मेमा प्रहरी हिरासतमा मृत्यु भएको थियो । मिडिया रिपोर्टका अनुसार उनले जेलमा नै आत्महत्या गरेका थिए ।

Back to top