×

बारा । जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको संयुक्त राज्य अमेरिकामा हुने चार दिने कार्यक्रमका लागि तय भएको भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। काफ्लेको भ्रमण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै भिसा लागिसकेको र काठमाण्डु आइसकेको अवस्थामा रद्द गरेको हो।

उर्मिला काफ्लेलाई अमेरिकामा यूएसएडको आयोजनामा हुने पव्लिक फिनान्सियल म्यानेजमेन्टसम्बन्धी चार दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन गत साउन ६ गते मन्त्रालयले मनोनयन गरेको थियो। काफ्लेले भिसा प्राप्त गरिसकेकी थिइन् र कार्यक्रमको तयारीसमेत पुरा भएको थियो। तर, भदौ १८ गते मन्त्रीस्तरीय निर्णयबाट उनको भ्रमणलाई रद्द गरिएको हो।

यस निर्णयलाई मेयर राजन पौडेलसँगको निकट सम्बन्धका कारण गरिएको बताइएको छ। पछिल्लो समयमा जितपुर सिमरामा मेयर र अन्य जनप्रतिनिधिबीच विवाद बढ्दै गएको छ। केही दिनअघि मेयरले एक सामुदायिक विद्यालयमा वडा अध्यक्षसँग विवाद गर्दै माइन्युट खोस्ने र हातपातमा उत्रिने प्रयास गरेका थिए। यस घटनापछि एमालेले मेयरको विरोध गरेको थियो।

मन्त्रालयले भने भ्रमण रद्द गर्नुको कारण प्रमुख प्रशासकीय अधिकृत काफ्लेको मेयरका गैरकानूनी क्रियाकलापमा उत्तरदायी ठहरिएको जनाएको छ। यस विषयमा मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुख उमेशकुमार ढकालले यस विषयमा प्रवक्तासँग बुझ्न आग्रह गरेका छन्। प्रवक्ता कालिप्रसाद पराजुलीले अर्को महाशाखा अन्तर्गतको निर्णय भएकाले यसबारे बुझेर मात्र टिप्पणी गर्न सकिने बताएका छन्।

यूएसएडद्वारा आयोजना हुने कार्यक्रममा १२ जना सहभागी हुने तय भए पनि दुई जनाको भिसा आउन बाँकी थियो। काफ्लेको भिसा आइसकेको भए पनि अन्तिम समयमा भ्रमण रद्द गरिँदा कार्यक्रममा उनको सहभागिता नहुने भएको छ।

Back to top