×

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको कुनै पनि कुनामा रहेका नेपाली नागरिकहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकार कटिबद्ध रहेको बताएका छन्। दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले प्रवासी नेपाली नागरिकहरूले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनु पर्ने कुरामा जोड दिँदै, सोही अनुसारको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताए। उनले बसाइँसराई, जलवायु परिवर्तन, र सामाजिक सञ्जालका अवसर तथा चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षालाई सम्बोधन गर्दै निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, "कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ। यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ।"

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदातालाई सुसूचित गर्ने मात्र होइन, मिथ्या सूचना, गलत सूचना, र घृणास्पद अभिव्यक्तिहरूको प्रवाह गर्ने जोखिम पनि रहेको बताएका छन्। उनले विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यता, र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्नसके मात्र आम जनताको मताधिकारको सम्मान हुने बताए।

Back to top