×

वीरगञ्ज । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतसँग माग गरिएका थप दुईवटा हवाई रूटबारे प्राविधिक टोलीबाट थप छलफल अघि बढाउने कुराकानी भएको बताएकी छन्।

त्यसमध्येको एक हवाईमार्ग मात्रै भारतले खुला गरिदिँदा पनि नेपालका लागि मात्रै नभएर कैयौँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले ठूलो परिमाणमा इन्धन र उडानको समय बचत गर्न सक्ने अधिकारीहरू बताउँछन्।

हालै भारत भ्रमणबाट फर्किएकी राणाले नेपालले माग गरेका दुई हवाई रूटबारे थप विवरण सार्वजनिक नगरे पनि अधिकारीहरूका अनुसार भैरहवा र महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने हवाईमार्गबारे नेपाल र भारतबीच कुराकानी भइरहेको छ।

महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय हवाईमार्ग भारतले दिए त्यसलाई हिमालय टू मार्गको रूपमा दिल्लीबाट हङकङ उडान हुने छोटो अन्तर्राष्ट्रिय हवाईमार्ग बनाउन सकिने प्रस्ताव नेपालले सन् २०१० मै अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेको छ।

नेपाललाई कस्तो फाइदा

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय हवाई समन्वय निकाय आईकाओको एशिया प्यासिफिक बैठकमा नेपालले प्रस्ताव गरेको उक्त हवाई रूटका लागि भारत र चीनले अनुमति दिए चीनको कुन्मिङबाट दिल्लीसम्मको उडान ५७ नटिकल माइल र सात मिनेट छोटो पर्ने उल्लेख छ।

अहिले दिल्लीबाट कोलकाता तथा इम्फाल हुँदै कुन्मिङ पुग्न १,४८८ नटिकल माइल दूरी पार गर्नुपर्छ। नेपालको बाटो हुँदै उडान गर्दा उक्त मार्ग १,४३१ नटिकल माइल छोटो हुने नेपालको दाबी छ।

महेन्द्रनगर काठमाडौं अनि गुवाहटी हुँदै कुन्मिङ उडानमार्गका लागि भारत र चीनले अनुमति दिँदा हरेक उडानमा ९१२ किलोग्राम इन्धन बचत हुने दाबी नेपालको छ। यो मार्गमा दैनिक औसत १५ वटा मात्रै उडान हुँदा पनि एक वर्षमा करिब ५,००० टन हवाई इन्धनको खपत घट्ने र त्यसले भारत अनि चीनजस्ता देशहरूको कार्बन उत्सर्जन दबाव पनि कम गर्न सहयोग पुग्ने नेपाली अधिकारीहरूको दाबी छ।

भारतले महेन्द्रनगर वा धनगढी क्षेत्रबाट दुईतर्फी हवाईमार्गका लागि अनुमति दिएको अवस्थामा त्यो हिमालय टू मार्गको अङ्ग बन्न सक्छ र नेपालका लागि मात्रै नभएर अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका लागि पनि लाभदायक हुन सक्छ, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता समेत रहेका उपमहानिर्देशक हंसराज पाण्डेले भने।

यो मार्गले जलवायु परिवर्तनको असर कम गर्नका लागि कार्बन उत्सर्जन घटाउन पनि सहयोग पुग्ने पाण्डे बताउँछन्। यो मार्ग खुलेको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबाट प्राप्त हुने रूट न्याभिगेशन शुल्कबापतको आम्दानी पनि बढ्छ, पाण्डेले भने।

तर यसका लागि चीनले पनि म्यान्मारसँगको सीमामा अर्को एउटा हवाईमार्गका लागि अनुमति दिनुपर्ने देखिएको अधिकारीहरू बताउँछन्।

नेपालले भारतको पूर्वी क्षेत्रमा बढ्दो हवाई चाप कम गर्न पनि यो मार्ग सहयोगी हुने दाबी गर्दै आएको छ। प्रस्तावित ुहिमालय टूु हवाई मार्ग हुँदै काठमाण्डूबाट चीनको कुन्मिङ जान ११४ नटिकल माइल र १५ मिनेट छोटो पर्ने नेपालको दाबी छ।

अहिले भारतले कुनकुन मार्ग दिएको छ

अहिले भारतले नेपालबाट बाहिरिनका लागि एकतर्फी मार्गका रूपमा भने महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरतर्फको रूट नेपाललाई उपलब्ध गराएको छ। तर भारतले सिमरा हुँदै काठमाडौं प्रवेश गर्ने र बाहिरिने मार्गलाई मात्रै दुईतर्फी हवाईमार्गको अनुमति दिएको छ।

भारतसहित अन्य देशहरूबाट नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडानहरू अहिले सिमरा हुँदै प्रवेश गर्नुपर्ने बाध्यता छ।
त्यसकारण नेपाललाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पनि चुनौती देखिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक समेत रहेका एअर ट्राफिकविज्ञ त्रिरत्न मानन्धर पश्चिम क्षेत्रबाट भैरहवा आउने विमानहरूले सिमरा आएर पुनः भैरहवा घुम्न लामो दूरी र समय खर्चनुपरेको बताउँछन्।

उनका अनुसार भैरहवानजिकैको अपिपु नाम दिइएको बिन्दुबाट जम्मा २२ नटिकल माइलमा भैरहवा अवतरण गर्न सकिने भए पनि त्यहाँबाट करिब ९० नटिकल माइल टाढाको पर्सा नेपाल प्रवेशबिन्दु पुगेर पुनः २२ नटिकल माइल उडेर विमानहरू भैरहवा अवतरण गर्नुपर्ने बाध्यता छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता पाण्डे नेपालको प्रस्तावबमोजिमको रूट प्राप्त हुँदा भैरहवाबाट कुवेत उडान गर्ने विमानले एक फन्को पूरा गर्दा काठमाडौंबाट उडान गर्ने भन्दा एक घण्टा कम समय लाग्ने देखिएको बताउँछन्।

त्यसैले भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाईमार्गको अनुमति पाउँदा भैरहवा र पोखरामा बनेका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनमा सहयोग पुग्ने विज्ञहरूको दाबी छ। तर भारतले आफ्नो सुरक्षाको चासो देखाउँदै नेपाललाई दुईतर्फी हवाईमार्गको अनुमति नदिएको मानन्धर बताउँछन्।

सन् १९९६ मा नयाँ दिल्लीनजिकैको चर्खी दादरी क्षेत्रमा साउदी अरब र काजकस्तानका दुईवटा विमान आकाशमा ठोकिँदा ३४९ जनाको मृत्यु भएपछि भारतले कैयौँ हवाईमार्गहरूलाई एकतर्फी बनाएको थियो। त्यही कारण देखाउँदै नेपालसँगका मार्गहरू पनि दुईतर्फी बनाउन तयार नभएको बुझाइ मानन्धरको छ।

तर नेपाल प्रवेश गर्दा सुरक्षा जोखिम हुने, बाहिरिँदा नहुने भन्ने कारण तर्कसङ्गत लाग्दैन, मानन्धर भन्छन्। अहिले नेपाल आउने पर्यटकहरूलाई गन्तव्य महँगो हुनुको कारण नै घुमाउरो हवाईमार्ग हो। 

Back to top