×

सिरहा । गोलबजार नगरपालिकाले हालै गरेको कर वृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले ज्ञापनपत्र बुझाएको छ। नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ का लागि मालपोत र अन्य कर दरमा गरिएको अत्यधिक वृद्धिको विरोध गर्दै माओवादी केन्द्रले यो कदमलाई जनविरोधी भन्दै कडा आपत्ति जनाएको छ।

ज्ञापनपत्रमा माओवादी केन्द्रले नगरपालिकाले कृषकहरूको ढाड सेक्ने नीति अवलम्बन गरेको आरोप लगाएको छ। "गोलबजार नगरपालिका विविधतापूर्ण कृषि क्षेत्र हो। तरकारी, फलफूल, धान, मकै, दलहन, तेलहन उत्पादन हुने यो क्षेत्रको विकासमा टेवा पुर्‍याउनुपर्नेमा नगरपालिकाले चर्को कर निर्धारण गरेर कृषकहरूलाई आर्थिक संकटमा धकेलेको छ," माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

माओवादीले एक हप्ताभित्र (७ दिन) कर वृद्धि खारेज गर्न माग गर्दै, अन्यथा संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएको छ। साथै, नेता प्रवेश लामाले करको दायरा बढाएर जनताको शोषण गर्नु गलत भएको बताए।

ज्ञापनपत्रमा भूमि वर्गीकरण र मूल्यांकन वैज्ञानिक ढंगले गर्न, सिफारिस शुल्क सहजरसुलभ बनाउन, सूचना माग्दा कानुन अनुसारको समयावधिमा सरल तरिकाले उपलब्ध गराउन, हाट बजार ठेक्का र असुली पारदर्शी बनाउन, र निर्माणाधीन प्रमुख प्रशासकीय भवनको कामलाई तुरुन्त सुचारु गर्न माग गरिएको छ।

माओवादीले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्दै विकास निर्माणमा पारदर्शिता र सुशासन कायम गर्न पनि जोड दिएको छ। ज्ञापनपत्र बुझाएसँगै माओवादीले नगरपालिकाको जनविरोधी नीतिहरूको कडा आलोचना गरेको छ।

Back to top