×

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ मा पर्ने भलुवाही खोला छेउका सार्वजनिक जग्गामा फलफुलका विरुवाहरु रोप्न सुरु गरिएको छ ।

समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तरगत पटेर्वा सुगौली गाँउपालिकाले वडा नम्बर ४ फरहदवास्थित भलुवाही खोला छेउको १० बिघा सार्वजनिक जग्गामा फलफुलका विरुवाहरु रोप्न थालेको हो ।

१० बिघा सार्वजनिक जग्गामा शनिबारदेखि आँप, कटहर, लिच्ची, कागती लगायतका विरुवाहरु रोप्न सुरु गरिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए । विरुवाहरुको व्यवस्थापन गाँउपालिका कार्यालयले गरेको उनले बताए । उनकाअनुसार १० बिघामा जग्गामा करिब १४ सय वटा बिरुवा रोपिने योजना छ ।

यसअघि वडा नम्बर ४ मै पर्ने हरजोतामा पनि करिब साढे ३ बिघा सार्वजनिक जग्गामा फलफूलकै ४ सय वटा बिरुवा रोपीएको गाँउपालिका उपाध्यक्ष ममता महतोले जानकारी दिइन् ।

सार्वजनिक जग्गामा रोपिएका विरुवाहरुको रेखदेख र संरक्षणको जिम्मा स्थानीय समुदायलाई दिइएको उनले बताइन् । सार्वजनिक जग्गामा रोपिएका फलफुलका विरुवाहरु हुर्काउने, रेखदेख र संरक्षण गरेबापत उक्त जग्गामा स्थानीयले तरकारी लगायतका खेती गरेर आयआर्जन गर्न पाउने गरि स्थानीयलाई जिम्मा दिइएको उपाध्यक्ष महतोले बताइन् ।

Back to top