×

कुनै पनि देशको पहिचान भनेको त्यस देशको धर्म, संस्कार, संस्कृति, भौगोलिक विषेशता र सबैभन्दा महŒवपूर्ण भाषा हो । पछिल्लो १०/१५ वर्षमा नेपाली भाषाको अवस्था स्खलित भइरहेको छ । कुनै पनि देशमा विविध राष्ट्र भाषा हुन सक्छन् तर राष्ट्रिय भाषा एउटै हुन्छ र संसारका कुनै पनि मुलुकले आप्mनो राष्ट्रिय भाषालाई अति सम्मान गर्छन् र गर्नु पनि पर्छ ।

हाम्रो देशको साक्षरता प्रतिशत बढ्दो छ । शिक्षामा लगानी बढेको छ । समय नै चेतनशील बनेको हुँदा आजका अभिभावक स्वयं शिक्षाप्रति सचेत देखिन्छन् । अरूको भन्दा सक्षम बनाउन उनीहरू आप्mना सन्तानलाई शहरतिर लान्छन् । सकेसम्म ‘बोर्डिङ स्कूल’ मा पढाउँछन् । धेरै शुल्क तिर्छन् । सरकारीमैं भए पनि राम्रा विद्यालय छान्छन् । आपूmले धेरै दुःख गरेर भए पनि उनीहरूलाई सुखसुविधा दिन्छन् । कपडा धोइदिने, खानाखाजा समयमा तयार पारिदिने, कापी, किताब मिलाएर राखिदिने, कोठा सफा गरिदिनेदेखि गृहकार्य गर्नसमेत सघाउँछन् आप्mना छोराछोरीलाई कतिपय अभिभावकहरू । यति भएर पनि हाम्रा औसत विद्यार्थीको ‘नेपाली भाषाको सामान्य ज्ञान’ चाहिं घट्दो छ । यस्तो अवस्था आउनुका केही कारण छन् ।  

सामाजिक पहिचान सुदृढ गर्न, सञ्चारको सहजीकरण, राष्ट्रिय विकासको प्रवद्र्धन, लोकतन्त्रीकरण र देशभित्र सांस्कृतिक विविधताको संरक्षण गर्न राष्ट्रिय भाषा महत्वपूर्ण हुन्छ । राष्ट्रिय भाषा राष्ट्रको लागि महŒवपूर्ण हुन्छ, किनकि यसले राष्ट्रिय शक्ति बढाउन, सामाजिक प्रगति, आर्थिक विकास र प्राविधिक नवप्रवर्तनमा सहयोग पु¥याउँछ र राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय विकासको रक्षा गर्दछ । कुनै पनि देशमा अन्य सयौं भाषा र बोली भए पनि राष्ट्रिय भाषाले राष्ट्रिय एकतालाई बल र सम्मान दिन्छ । राष्ट्रिय भाषाले देशको राष्ट्रिय चरित्रको स्पष्टरूपमा सङ्केत गर्छ । यदि तपाईं कुनै समाजलाई गहिरोरूपमा प्रवेश गर्न र बुझ्न चाहनुहुन्छ भने, यस समाजको भाषा बोल्न र लेख्न जान्नैपर्छ ।

चीन, जापानजस्ता देशहरू आप्mनो भाषामा जोड दिएरै विकसित भएका छन् । हामीकहाँ भने आपूmलाई शिक्षित बनाउन विशेषतः अङ्ग्रेजी भाषालाई जोड दिने गन्छ । हाम्रा सरकारी विद्यालय पनि ‘इङ्गलिस मिडियम’ का बन्न थालेका छन् । सबैजसो विषय अङ्ग्रेजीमा पढ्नुपर्ने, अङ्गग्रेजीमैं लेख्नुपने, अङ्गग्रेजीमैं बोल्नुपर्ने– यी त भए विद्यालयका कुरा । कतिपयका त घरमा पनि, “अब बाबू ‘ओरेन्ज खान्छ’, ‘नाइन बजिसक्यो, ‘भिकल आइसक्यो’, ‘नानीको कपी लस्ट भएछ’, ‘बाहिर के को क्राउड हो’, ‘अब ब्रेकफास्ट गर्ने बेला भइसक्यो’ जस्ता वाक्य भन्दै सानैदेखि अङ्गग्रेजीमैं अभ्यास गराएको देखिन्छ । सभ्य देखिनका लागि यसको सिको अन्यले पनि गर्ने नै भए । हामीकहाँ मातृभाषा बोल्न नचाहने बालबालिका पनि धेरै छन् । मातृभाषा पूरै बिर्सन नसकेर नेपालीमा गल्ती गर्ने पनि उत्तिकै छन् । यस्तो अवस्थामा न मातृभाषा शुद्ध, न नेपाली भाषा शुद्ध । मातृभाषाकै कारण कतिपय विद्यार्थी “हिजो पानी परेको बेलामा म बसमा छ । मैले गृहकार्य लेखिसक्यो । हिजो म अस्पताल गयो/गएको छ…” जस्ता वाक्य बोल्छन्/लेख्छन् । यस्तो अवस्थामा नेपाली भाषा कसरी शुद्ध प्रयोगमा आउन सक्छ ? हुनुपर्ने त मातृभाषा र राष्ट्रभाषा दुवै शुद्ध बोल्न/लेख्न जान्नु हो ।

अझ मधेस प्रदेशमा त हिन्दी भाषाको यति दबदबा छ कि समाजका प्रतिष्ठित कहलाउनेहरू पनि मातृभाषा भोजपुरी, मैथिली, मारवाडी बोल्दा प्रतिष्ठा नै घट्ने हो कि जस्तो ठान्छन् । हामीले आप्mनो सन्तानलाई मातृभाषाबाट दिनदिनै वञ्चित पार्दै लगिरहेका छौ भन्ने बुझ्नु ज्यादै जरुरी छ । मेरो हिन्दी भाषाप्रति कुनै आग्रह–पूर्वाग्रह छैन, म पनि हिन्दी राम्रो बोल्छु साथै विभिन्न हिन्दी कलाकारको नक्कल पनि राम्रै गर्छु । यति मात्र भन्न खोजेको हो कि आप्mनो राष्ट्रिय भाषालाई सम्मान गर्न सिक्नुपर्छ र आप्mना बालबालिकालाई यसको महŒव बुझाउनुपर्छ ।                                                                                            

केही महीना अघि एउटा हिन्दी कवि गोष्ठीमा एकजना विद्वान्, प्रतिष्ठित पत्रकारले एउटा कार्यक्रममा केसम्म भन्न भ्याए भने– हिन्दी भाषा ही हमारे देशका सेतु है । नेपाली भाषा ने तो हमें वर्षों से गुलाम बनाए हैं ।“ उनको त्यो भाषण सुनेर हामी दुईजना साथी त्यहाँबाट जुरुक्क उठेर हिड्यौं । पछि बुझ्दै जाँदा त उनको ठूलो स्वार्थ लुकेको रहेछ त्यहाँ । कुनै भाषा जान्नु र सिक्नु सा¥है सराहनीय कुरा हो तर आप्mनो देशको राष्ट्रिय भाषाप्रति घृणा प्रयोग गर्नु कति उचित होला ? स्थानीय भाषा, मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषा प्रत्येक नागरिकले जान्नैपर्छ र बहुभाषाको महŒव सिकाउनैपर्छ ।                                                

हामीलाई विश्व समुदायमा परिचय गराउने भाषा नेपाली हो । यो हाम्रा लागि अति प्यारो छ । यो कुरा स्विकारेर, ‘नेपाली पनि पढ्नै र जान्नैपर्ने विषय हो’ भन्ने कुराको बोध न हाम्रा विद्यार्थीले गर्न सकेका छन्, न शिक्षकले नै गराउन सकेका छन् । त्यसैले नेपाली विषयमा विद्यार्थीको खास रुचि छैन । के शहर, के गाउँ, प्रायः सबैतिरका विद्यालयले अङ्ग्रेजी भाषालाई नै जोड दिएपछि यस्तो अवस्था आउनु स्वाभाविक पनि हो । परिणामतः कक्षामा नेपाली विषयको घण्टीमा पनि विद्यार्थीहरू अङ्ग्रेजी, विज्ञान, गणित र ऐच्छिक गणितजस्ता विषयको अभ्यास र छलफलमा व्यस्त हुन रुचाउँछन् । ट्युशन तिनै विषयको हुन्छ । तर परीक्षाको नतीजा तल्लो ग्रेड तिनै विषयमा आएको देखिन्छ ।

विद्यालय, घरपरिवार मात्र होइन, सर्वत्रको वातावरण ‘अङ्ग्रेजीमय’ छ । नेताहरू बोल्दा अङ्ग्रेजी मिसाउँछन् । पत्रकारहरू उसै गर्छन् । यस्तो भएपछि, अभिभावक चाहेर पनि नेपाली भाषाको कमजोरी हटाउन सक्दैनन् । उनीहरूमा त्यस्तो चाहना पनि पलाउँदैन । बरु छोराछोरीले कनीकुथी नेपाली पढेको भन्दा सरर्र अङ्ग्रेजी बोलेको, अङ्ग्रेजी लेखेकोमा गर्व गर्छन् । एकजना शिक्षित अभिभावक आप्mनो छोरो भर्ना गर्न आउँदा मुसुक्क हाँस्दै भनेको कुरा बेलाबेलामा सम्झन्छु । उनको छोरा मात्र होइन, आठ/नौ कक्षामा पढ्ने कतिपय विद्यार्थीलाई १ देखि १०० सम्म गन्नसमेत आउँदैन । उनीहरूले नेपालीमा कुनै कुरा लेख्न खोजे भने अङ्ग्रेजीमा सोच्ने भएकाले, कतिपय ‘इङ्गलिश वर्ड’ नेपालीमा बताइदिनुपर्छ ।

नेपाली विषयको कक्षामा पनि कतिपय शब्दलाई अङ्ग्रेजीमा उल्था गरेर बुझाइदिनुपर्छ । नेपाली अङ्कमा भन्यो भने फोन नम्बर बुझ्दैनन् । कक्षामा, ‘किताबको २७६ पृष्ठ पल्टाऊ भन्यो भने, त्यो भनेको कति हो सर, भन्छन् । यस्तो अवस्था छ।

‘भन्छन्’, ‘लेख्छन्’, ‘भन्थ्यो’, ‘लेख्थ्यो’ लेख्न जान्दैनन् । ग¥यो, ‘शृङ्खला’ चिरञ्जीवी, विश्वनाथ लेख्न सक्नु त परको कुरा । ए “हामी नेपाली हौं, हामीले नेपाली भाषालाई माया गर्नुपर्छ । यसलाई शुद्धसँग लेख्न/बोल्न जानिएन भने त नेपाली भएको अर्थै भएन नि १” भन्यो भने, “सर हामी १२ कक्षा सकेर विदेश जानेलाई नेपाली जानेर के काम ?” अब सम्झाउने ठाउँ छ त ? राज्य जब कमजोर हुन्छ विदेशीहरूको हालीमुहाली हुन थाल्छ र त्यस मुलुकलाई कमजोर पार्न त्यहाँको भाषा र संस्कृतिमाथि आक्रमण शुरू हुन्छ । हो त्यही भइरहेको छ, यो देशमा अहिले ।

हामीलाई थाहै छ–नेपाली भाषाको जग संस्कृत हो । ‘संस्कृत पढेर के काम’, ‘मलाई संस्कृत पढ्नै मन लाग्दैन’, ‘यसको कुनै काम छैन’, भने पनि नेपालीमा प्रयोग हुने थुप्रै शब्दहरू संस्कृतबाट आएका हुन्छन् । तिनलाई हामीले प्रयोग गरिरहेका हुन्छौं । हामीले प्रयोग गर्ने धेरै शब्दको स्रोत, व्युत्पत्ति, निर्माण प्रक्रिया इत्यादिको कुरो गर्नुपर्दा संस्कृतसम्म नपुगी धरै छैन । नेपाली भाषाकै अवस्था कमजोर भइरहेको यो बेलामा अब संस्कत भाषाको महŒव कसले सम्झाउने ?

हाम्रो पहिचान र गौरव भनेकै पूर्वीय दर्शन हो । कतिपय सन्दर्भमा वेद, पुराण, रामायण, महाभारत, उपनिषद्का प्रसङ्ग उल्लेख गर्नुपर्ने हुन्छ । त्यो बेला स्वतः संस्कृत पदावली, श्लोक आउने नै भए । यस्ता प्रसङ्ग हाम्रा पाठ्यपुस्तकमा पनि उल्लिखित छन् । नेपाली वाक्य राम्ररी पढ्न नजानेको अवस्थामा ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’, ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ जस्ता संस्कृत पदावलीलाई कसरी सिकाउने/बुझाउने होला ? नेपाली लेखाइ र उच्चारण शुद्ध बनाउने उद्देश्यले सेतोपाटीमा सरस्वती वन्दना लेखेर–‘यो सारेर कण्ठस्थ पार्नुहोस् हैै । भन्यो भने, “सर यो परीक्षामा आउँछ र ?” भन्ने खालको जवाफ पाइन्छ ।

कुनै पनि भाषा जान्नु राम्रो हो । त्यसमा पनि विश्वभाषाका रूपमा स्विकारिएको अङ्गे्रजी भाषा त जान्नैपर्छ तर यसो भन्दैमा नेपाली भाषालाई बेवास्ता गर्नु चाहिं कुनै पनि हालतमा राम्रो होइन । समय समयमा मनाइने भानुजयन्ती, मोतीजयन्ती, लेखनाथ जयन्ती, देवकोटाजयन्ती, समजयन्तीका सन्दर्भमा नेपाली भाषालाई सानो कक्षादेखि नै शुद्ध प्रयोग गर्ने वातावरण बनाउनुपर्छ भन्नेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

अन्त्यमा पछिल्लो समय धेरै देशमा एउटा दुर्भाग्यपूर्ण प्रवृत्ति बसेको छ । अङ्ग्रेजी राष्ट्रिय भाषा नभएका देशहरूमा बालबालिका र वयस्कहरू अङ्ग्रेजी प्रयोग गर्छन् । यसबाहेक, यसलाई अभिजात वर्गको प्रतीकका रूपमा लिइन्छ र यो व्यक्तिको साक्षरतास्तर मापन गर्ने बेन्चमार्क बनेको छ । यो दुर्भाग्यपूर्ण प्रवृत्तिले युवा पुस्तालाई राष्ट्रिय भाषाबाट झन् टाढा लैजाँदै छ । राष्ट्रिय भाषाको जगेर्ना गर्न हामी सबै एकबद्ध हुनु ज्यादै महत्वपूर्ण छ । सबैमा चेतना भया !

Back to top