×

वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयको सानो सवारी शाखामा कार्यरत अधिकृत रञ्जित साहले भ्रष्टाचारको चरम सीमा नाघ्दै आफ्नो पदको दुरुपयोग गरेको खुलासा भएको छ। सवारी साधन सम्बन्धी काममा संलग्न साहले सेवा ग्राहीहरूबाट गैरकानुनी शुल्क असुल्ने गरेको आरोप लागेको छ, जसका कारण उक्त शाखा भ्रष्टाचारको अखडामा परिणत भएको छ।

ब्लुबुक प्रतिलिपि र नामसारीमा अवैध असुली

साहले सवारी धनीको अनुपस्थितिमा समेत ब्लुबुक प्रतिलिपि जारी गर्ने क्रममा रु १,००० देखि २,००० सम्म असुल्ने गरेको र सनाखत तथा नामसारी प्रक्रियामा प्रति ब्लुबुक रु २,००० देखि ३,००० सम्म असुल्ने गरेको बताइएको छ। यस अनियमितताका प्रमाणहरू यो समाचार माध्यमसँग सुरक्षित छन्।

नामसारी प्रक्रियामा धाँधली

२०८१ साउन २ गते, ना ५७ प ७९५३ नम्बरको स्कुटरको नामसारी प्रक्रियामा चितवन निवासी मन्जु कडेल सापकोटाबाट गणेश पाटवाको नाममा नामसारी गरिएको थियो। यस क्रममा सवारी धनीको नक्कली ल्याप्चे प्रयोग गरिएको र उक्त नामसारी गरिदिनेमा साहको हस्ताक्षर रहेको पाइएको छ, जुन कानुनविपरीतको कार्य हो।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को अनुसार सवारी नामसारी गर्दा सवारी धनीको उपस्थिति अनिवार्य छ, तर साहले यसलाई नजरअन्दाज गर्दै अवैध गतिविधिहरूलाई प्रश्रय दिइरहेको देखिन्छ।

भन्सार लिलामी प्रक्रियामा अनियमितता

साहले भन्सार लिलामी प्रक्रियामा पनि गैरकानुनी क्रियाकलाप गरेको पाइएको छ। वीरगञ्ज भन्सार कार्यालयले २०८१ असार २१ गते सूचना नं २९५ मार्फत लिलाम गरेको मोटरसाइकलहरू दर्ता गर्दा साहले आफैं पेश गरी आफैं सदर गरेका छन्। यातायात व्यवस्थापन कार्यविधि अनुसार यस प्रकारका प्रक्रियामा प्रमुखको अनुमति आवश्यक हुन्छ, तर साहले प्रमुख कमल गौतमलाई बेवास्ता गर्दै यो कार्य गरेको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मौनता

छैठौं तहका अधिकृत रञ्जित साहले दिनदहाडै ऐन कानुनको धज्जी उडाइरहेको भए तापनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायहरू मौन रहेको देखिन्छ। यसले गर्दा सेवाग्राहीहरू थप समस्यामा परेका छन्।

सावधानीपूर्वक अनुसन्धान गरि कारवाही अगाडि बढाउन सम्बन्धित निकायहरूलाई आवश्यक छ। वीरगञ्जका सेवाग्राहीहरूले न्यायको अपेक्षा राखेका छन्।

Back to top