×

वीरगञ्ज । वडाध्यक्ष बन्धुसाह तेली र वडा सचिव अशोक राउत कुर्मीबिचको विवादले उग्र रूप लिँदा पर्साका धोबिनी गाउँपालिकाको वडा कार्यालयमा तालाबन्दी भएको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार, वडाध्यक्ष तेलीले वडा सचिव कुर्मी कार्यालयमा नियमित नआउने र सेवाग्राहीहरूका गुनासोहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

वडाध्यक्ष तेलीले भने, "मैले वडा सचिवको यस्तो गतिविधि सुधार्न सुझाव दिएको थिएँ । तर, उनले मेरो कुरा नमानेपछि अहिले हाम्रो बिचमा बोलचाल बन्द भएको छ ।" उनले वडा सचिव कुर्मीले समयमा कार्यालय नआएर सेवाग्राहीहरूको काममा अवरोध पुर्‍याएको र आलटाल गरेको दाबी पनि गरे ।

वडा सचिव कुर्मीले भने आफू नियमित कार्यालयमा उपस्थित हुने गरेको तर वडाध्यक्षले विभिन्न बहानामा आफूलाई हेप्ने गरेको बताए । उनले वडाध्यक्षले आफ्नो मान्छे लगाएर वडा कार्यालयमा तालाबन्दी गराएको र आफूलाई बदनाम गर्न खोजेको आरोप लगाए ।

गाउँपालिका अध्यक्ष मदन चौहानले भने, "वडा कार्यालयमा भएको तालाबन्दीबारे मलाई जानकारी प्राप्त भएको छ । दुवै पक्षलाई मिलाएर ताला खोल्ने प्रयास भइरहेको छ।" उनले दुबैलाई नै घटनाका दोषी रहेको टिप्पणी गरे ।

वडा कार्यालयमा आइतवरदेखि तालाबन्दी भएपछि सेवाग्राहीहरूलाई आफ्नो कामकाजमा निकै समस्या परेको छ ।

Back to top