×

वीरगञ्ज । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २, सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा महिलाहरूले मङ्गलवार दिउँसो तोडफोड गरेका छन् ।

लघुवित्त सङ्घर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा आएका महिलाहरूले संस्थाको साइनबोर्ड च्यात्दै कार्यालयमा रहेका उपकरणहरू तोडफोड गर्नुका साथै कागजपत्रहरू बाहिर फ्याँकिदिएका थिए ।

महिलाहरूले डिप्रोस लघुवित्त वित्तीय संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको आरोप लगाउँदै उपद्रो मचाएका थिए ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार, घटनामा संलग्न व्यक्तिहरूले मुखमा मास्क लगाएका थिए र महिलासँगै पुरुषको पनि सहभागिता रहेको सिसिटिभी फुटेजमा देखिएको छ । उनले सोही आधारमा पहिचान गरी थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

डिप्रोस लघुवित्तका शाखा प्रमुख प्रदीप चौधरीले आक्रमणकारीहरूले कार्यालयमा रहेका ऋणसम्बन्धी कागजात, तमसुक, भरपाई जस्ता महत्त्वपूर्ण कागजातहरू कार्यालय कक्षबाट बाहिर फ्याँकेको र आर्थिक शाखाका उपकरणहरूमा पनि तोडफोड गरेको बताए । उनले उपद्रो मचाएपछि प्रहरीलाई खबर गरिएको जानकारी पनि दिए ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, घटनामा संलग्न दुई जना महिलालाई इलाका प्रहरी कार्यालय, सेढवाले पक्राउ गरी इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा स्थानान्तरण गरिएको छ । प्रहरीद्वारा घटनाको थप अनुसन्धान जारी रहेको छ ।

Back to top