×

वीरगञ्ज । वीरगञ्ज स्थित सानो सवारी शाखा, मोटरसाइकल फाँटका अधिकृत रञ्जित साहमाथि घुस माग्ने र सेवाग्राहीहरूलाई दुःख दिने गरेको गम्भीर आरोपहरू लागेका छन् ।

सेवाग्राहीहरूले बताए अनुसार, साहले आफैँ वा बिचौलिया मार्फत घुस रकम असुली कार्यमा संलग्न रहेका छन् । मोटरसाइकल ब्लुबुक प्रतिलिपिमा एक हजारदेखि दुई हजार र सनाखत नामसारी प्रक्रियामा दुई हजारदेखि तीन हजारसम्म असुलेर काम गरिरहेको आरोप लागेको छ ।

सेवाग्राहीहरूले साहले मोटरसाइकल नामसारी प्रक्रियामा कानुनी प्रक्रिया बेवास्ता गर्दै मनोमानी गरेको दाबी गरेका छन् । मिति २०८१ भदौ २ गते ना ४३ प २१८५ नम्बरको मोटरसाइकल नारायणगढ निवासी विश्वा शाहीबाट कीर्तिपुर-१५, काठमाडौँ निवासी अञ्जित खडकाको नाममा सनाखत नामसारी गरिएका थुप्रै प्रमाणहरू सार्वजनिक भएका छन् ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ अनुसार, सवारी नामसारी गर्दा विक्रेता र खरिदकर्ताले कार्यालयमा उपस्थित भई प्रक्रिया पुरा गर्नु पर्नेछ । तर, अधिकृत साहले कुनै पनि प्रक्रिया पुरा नगरी घुसको बलमा दर्जनौँ सनाखत नामसारी गरेको पाइएको छ ।

उक्त भ्रष्टाचार प्रकरणमा वीरगञ्ज यातायात कार्यालय प्रमुख कमल गौतमलाई धोका दिँदै साहले आफ्नो कार्य अगाडि बढाएको स्रोतले बताएको छ । साहको दरबन्दी गौर यातायात कार्यालयमा भए तापनि, उनी काजमा वीरगञ्ज आएका हुन् । उनी मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नजिकको व्यक्ति भएको दाबी गर्दै भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप छ ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री सिंहले आफ्नो मोबाइल फोन नउठाएको जनाइएको छ ।

यसबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरूमा भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको भए पनि, वीरगञ्जका अधिकृत साहमाथि आवश्यक कारबाही अघि नबढाउँदा सेवाग्राहीहरू पीडित भइरहेका छन् ।

Back to top