×

वीरगञ्ज । जिराभवानी गाउँपालिका–१ बलुवा टोलमा प्रहरीले अवैध सक्कर कारोबारमा संलग्न उद्योगमा छापा मारेको छ। प्रहरीको अनुसार भारतको भगहाबाट चोरी गरी ल्याइएको सक्कर विभिन्न स्थानमा पुर्याउने योजनाका साथ उद्योगमा स्टक गरिरहेको सूचनाका आधारमा छापा मारीएको हो।

छापा मार्ने क्रममा रसिक अन्सारीको निर्माणाधीन एकतले घरबाट ३० केजीका १२० बोरा सक्कर र सैफुला सेखको घरबाट ३१ बोरा रसायनिक मल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन्।

प्रहरीको अनुसार, भारतबाट भन्सार छलि गरि ल्याइएको उक्त सक्कर नेपालमा महङ्गो मूल्यमा बिक्री गर्ने तयारीमा रहेको थियो। ती उद्योगहरूले आफ्नो उद्योगको नाममा बिल काटेर मात्र व्यवसाय गर्दै आए पनि उनीहरूको उद्योगमा उत्पादित सक्कर नभई, भारतीय सक्कर रहेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।

सक्करको पैकिंग गर्न प्रयोग गरिने बोरा र प्लास्टिकको बिल समेत नभएको हुँदा सो सामानहरू भारतीय नै भएको पाइएको हो। नाम नबताउने शर्तमा एकजना उद्योगीले बताए अनुसार, यो सक्कर अवैध रूपमा ल्याइएको हो भने पनि बिल र प्रमाण नहुँदा कानुनी रूपमा कारबाही गर्न कठिनाइ हुने अवस्था रहेको छ।

प्रहरीले यस मामिलामा थप अनुसन्धान गरिरहेको छ।

Back to top