×

बारा । बारामा सशस्त्र प्रहरीको संलग्नतामा व्यापक तस्करी भइरहेको खुलासा भएको छ। आर्थिक लाभका लागि सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको एक पिकअप तास नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार नेपाल प्रहरीको टोलीले बघवन नजिकैबाट ना ५ च १८०१ नम्बरको पिकअप गाडीमा लोड गरिएको तास बरामद गरेको हो। यस घटनाले सशस्त्र प्रहरीको मिलिभगतमा तस्करी भइरहेको तथ्यलाई पुष्टि गरेको छ।

सूत्रका अनुसार सशस्त्र प्रहरी निरीक्षक बिर्ख शाहीले कवहीगोठस्थित सशस्त्र प्रहरी बीओपीका प्रमुखको रूपमा आर्थिक लाभ लिएर तास नेपाल भित्र्याउन अनुमति दिएका थिए। सुरेन्द्र साह र दिनेश नामका तस्करहरूले निरीक्षक शाहीसँग तस्करी गर्न अनुमति लिएको दाबी गरिएको छ।

एक सशस्त्र प्रहरी जवानले खुलासा गरे अनुसार, ती तस्करहरूले हरेक महिना ११ गते शाहीलाई मोटो रकम दिएर तस्करीका सामान नेपाल भित्र्याउने गरेका थिए। निरीक्षक शाहीले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आर्थिक लाभ नलिएको दाबी गरेका छन्।

सूत्रका अनुसार तस्करहरूले बीओपी कवहीगोठ, सशस्त्र प्रहरीको १२ नम्बर गणका एसपी सन्तोष बहादुर सिंह, बरियारपुर बीओपी, र तेलकुवाँ बेसलाई पनि आर्थिक नजराना चढाएर तस्करीको सामान वीरगञ्जसम्म पुर्‍याउने गरेका थिए। सशस्त्र प्रहरी उपरीक्षक सिंहले पनि आफूले कुनै आर्थिक लाभ नलिएको दाबी गरेका छन्।

तस्करहरूले पक्राउ परेका तास र गाडी छुटाउन तीन लाख रुपैयाँको प्रयास गरिरहेको बताइएको छ। पक्राउ परेका समानहरू आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको डीएसपी सापकोटाले जानकारी दिए।

प्रहरीले दुई सय कार्टुन तास लोड गरिएको पिकअप नियन्त्रणमा लिएको छ। तस्करहरूले नेपाल प्रहरीको कबहीगोठ, तेल्कुवा, र बरियारपुर चौकीलाई समेत प्रभावमा पार्ने प्रयास गरेको जनाइएको छ।

Back to top