×

कुनै देशमा जनविद्रोह त्यत्तिकै हुँदैन । राज्यले जब दमन र विभेद्को पराकाष्ठा नाग्छ , विद्रोह अवश्यमभावी हुन्छ। २००७ साल देखि २०६२/ ६३ को दोश्रो जनान्दोलन हुँदै मधेश विद्रोह हुनुको कारण नै सामाजिक अन्याय , शोषण , अत्याचार , सामाजिक विभेद र नातावाद र कृपावाद हो। 

दोश्रो युद्ध को समाप्ती पछी नै विश्वका धेरै मुलुकमा जन विद्रोहको बलमै सत्ता परिवर्तन मात्र हैन मुलुकले कान्चुली नै फेरेको द्रिष्टान्त हामीले अनुभव, अनुभुती र अवलोकन गरेकै छौ। 

संसारमा कुनै पनि बेला जे पनि हुन सक्छ भनेको ठ्याक्कै हो रहेछ । कसले सोचेको थियो होला र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जो निकटमा रहेको निर्वाचनमा राष्ट्रपति पदका उमेदवार हुन्, तिनलाई चुनावी सभामा एक युवाले ज्यान मार्ने उद्देश्यले गोली हान्छन्, कानको टुप्पोमा मात्रै लाग्छ, रगत बग्छ तर उनको ज्यान जोगिन्छ । यस्तो घटनाको अनुमान कसैले गरेका थिएनन् । भन्नलाई एक व्यक्तिले भविष्यवाणी गरेका थिए पनि भनिन्छ, तर गरेकै थिए र मिलेकै भए पनि बाँकी संसारका मानिसले अन्दाज गरेका थिएनन् ।

२०५८ साल जेठ १९ गते शुक्रबार नेपालका प्रायः सबै जनता आफ्नो गच्छेअनुसारको खाना खाएर सुत्ने तर्खर गरिरहेका थिए । रातको दस नबज्दै देशविदेशका टेलिफोनका घण्टीहरु लगातार टिङ्टिङ गर्न थाले । बिहान उज्यालो नहुँदै नेपालको राजपरिवार गोलीकाण्डमा सोत्तर भएको खबर संसारभरि फैलियो । कसले कल्पना गरेको थियो र त्यति सुरक्षित मान्छे र तिनको परिवार एकै खेपमा चट् हुन सक्छन् ? तर सत्य यही हो, दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित उनका नौ जना अरु सदस्यहरु स्वर्ग प्रस्थान गरे । सपना हो कि बिपना हो, समाचार साँचो हो कि उडन्ते हो धेरैलाई भ्रम भो । सत्य हो भन्ने महसुस हुन पनि एक–दुई दिन लाग्यो नेपाली जनतालाई । राजपरिवार लासमा परिणत भए । अपत्यारिला र बिरलै घट्ने घटना थियो यो । नेपालको कसैले अन्दाज गर्न नसकेको राजनीतिक घटना २०१७ साल पुष १ गतेको पनि हो, जुन दिन संसद् विघटन र सरकार अपदस्थ भएको थियो । ठूलो क्रान्ति भएको होइन, तर २०४६ सालमा सजिलै राजनीतिक व्यवस्था परिवर्तन भयो । पञ्चायती शासनव्यवस्था ढल्ने अनुमान कसैले गरेका थिएनन् । 

नेपालजस्तो शान्तिपूर्ण देशमा २०५२ सालमा सरकारको विरूद्ध हतियार उठ्यो । हतियार उठाउनेहरु दुनियाँको नजरमा सारै कमजोर थिए, तर दस वर्षकै अन्तरालमा सिङ्गो राज्यसत्ताको सातो उडायो । शान्तिपूर्ण राजनीतिको बाटोमा पछि आयो । त्यो खालको लडाइँको पनि नेपालीले कल्पना गरेका थिएनन् । अर्को झनै कसैले सपनामा पनि नसोचेको घटना भन्नुपर्छ, सात दल र माओवादीको संयुक्त आन्दोलनले २४० वर्षे इतिहास बोकेको राजसंस्था नै विस्थापित भयो । राजसंस्था फेरि फर्काउनुपर्छ, राजसंस्थाबिना राष्ट्रियता कमजोर भयो भन्ने एकथरी मान्छेहरु अहिले पनि छँदै छन्, त्यो बेग्लै पाटो हो तर राजसंस्था त्यो तरिकाले सजिलै ढल्ला कसैले अनुमान गर्न सकेका थिएनन् । यस्ता अप्रत्याशित राजनीतिक घटनाको सामना संसारका हरेक देशले ढिलो–चाँडो व्यहोरेकै छन् । यस्तै सन्दर्भमा बंगलादेशले पनि दुनियाँमा कसैले कल्पना नगरेको राजनीतिक घटना व्यहोर्न पुग्यो । 

बंगलादेश जन्मिएको धेरै वर्ष भएको छैन । सन् १९४७ मा भारत र पाकिस्तान दुई देशमा विभाजित भए । पहिले भारत एउटामात्रै देश थियो । भारत विभाजन भएर पाकिस्तान जन्मियो । पाकिस्तान जन्मिएको २४ वर्षपछि अर्थात् सन् १९७१ मा पूर्वी पाकिस्तान बंगलादेशको रुपमा जन्मियो । एक भारतबाट तीन देश बन्न पुगे भारत, पाकिस्तान र बंगलादेश । अहिले बंगलादेशको उमेर ५३ वर्ष पुगेको छ । यो ५३ वर्षमा बंगलादेशले पनि अनेकौँ खाले समस्या र घटनाहरु व्यहोर्दै आएको छ । सबैभन्दा डरलाग्दो र कसैले नसोचेको घटना त सन् १९७५ मा शेख मुजिबुर रहमान जो बंगलादेशका प्रथम राष्ट्रपति र पछि प्रधानमन्त्री भएका हुन्, तिनको परिवारको सामूहिक हत्या भयो । शेख मुजिबुर, उनकी श्रीमती, छोराहरु, ज्वाइँ र अन्य नातेदारहरु त्यो हत्याकाण्डमा मारिए । शेख मुजिबुरका दुई छोरीहरु शेख हसिना र शेख रेहाना विदेशमा भएका कारण जोगिएका थिए ।

परिवार सखाप भएपछि शेख हसिना राजनीतिमा प्रवेश गरिन् । राजनीति प्रवेशको २१ वर्षमा अर्थात् सन् १९९६ मा शेख हसिना वाजेद पहिलोपटक बंगलादेशको प्रधानमन्त्री बनिन् । अवामी लिग उनको नेतृत्वमा रहेको राजनीतिक दल हो । बंगलादेशमा उनको मुख्य प्रतिस्पर्धी बेगम खालिदा जिया हुन् । बेगम खालिदा उनका पति जियाउर रहमानले जन्माएका बंगलादेश नेसनल पार्टी बिएनपीको प्रमुख हुन् । उनले बंगलादेशमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा काम गरिन् भने अहिलेसम्म उनी दुईपटक प्रधानमन्त्री भएकी छिन् । उनको शासनकालमा उनलाई आर्थिक भ्रष्टाचार गरेको आरोप लाग्यो । उनी जेलसमेत परिन् । श्रीमान्को हत्यापछि राजनीतिमा आएकी बेगम खालिदा जिया र पिता शेख मुजिबुर रहमानको हत्यापछि राजनीतिमा आएकी शेख हसिना वाजेदबीच सधैँभरि राजनीतिक टक्कर भइरह्यो । चुनाव ताका एकले अर्कोलाई निकै कडा शब्दले विरोध गरे । अवामी लिगले जित्दा शेख हसिना प्रधानमन्त्री बन्ने र बंगलादेश नेसनल पार्टीले जित्दा बेगम खालिदा जिया प्रधानमन्त्री बन्ने प्रक्रिया सुरू भयो । पालैपालो प्रधानमन्त्री र विपक्षी दलका प्रमुख बने दुई महिला । एसियाली मुलुकहरुमध्ये बंगलादेश एकमात्र त्यस्तो देश हो जहाँ केवल दुई महिला शेख हसिना र बेगम खालिदाको हालीमुहाली रह्यो । तर, पछिल्ला केही वर्षमा बंगलादेशको राजनीतिमा बेगम खालिदा जिया शेख हसिनाभन्दा पछि परिन् । ठूलै आर्थिक भ्रष्टाचार काण्डमा बेगम खालिदा मुछिइन् र जेल परिन् । जिया कमजोर भएपछि स्वतः बंगलादेश नेसनल पार्टी कमजोर हुन पुग्यो र अवामी लिग अघि आयो । पार्टी नेतृ शेख हसिनाले एकछत्र जित्दै गइन् र पटकपटक प्रधानमन्त्री भइन् ।

हसिना बंगलादेशकी यतिसम्म प्रख्यात नेतृ हुन् जसको पक्षमा लाख होइन करोडौँ जनताले समर्थन गरे र भोट पनि करोडौँमा दिए । यिनले आफ्नो कार्यकालमा ठूला–ठूला कलकारखाना र उद्योगहरु सञ्चालन गरिन् । पुलको हकमा त संसारको लामो र प्रभावकारी पुल बनाएर दुनियाँलाई चकित पारिन् ! सम्भव भएसम्म विश्वका अन्य राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध पनि राखिन्, तर कुनै पनि बेला जेसुकै घटना घट्न सक्छ भन्ने कुरा बंगलादेशमा पनि लागू भयो । शेख हसिना करोडौँ जनताको साथ र समर्थन पाएर पनि केही लाख जनताको निरन्तरको आन्दोलनले उनी देशै छाडेर भाग्ने अवस्थामा पुगिन् र उनले एकसरो कपडा र एउटा ब्याग बोकेर हेलिकप्टर चढिन् । बहिनी रेहानालाई समेत उनले साथमै लगिन् ।

अब खासमा बंगलादेशमा आन्दोलन किन चर्कियो, वास्तविक कारण यस्तो हो । सन् १९७१ मा शेख मुजिबुर रहमान जो शेख हसिनाका पिता थिए, तिनको नेतृत्वमा आन्दोलन हुँदा र बंगलादेश जन्मिँदा जुन–जुन समुदायका मानिसहरुले साथ दिएका थिए तिनका परिवार र नातापातालाई सरकारी जागिरमा आरक्षणको व्यवस्था गरिएको थियो । शेख मुजिबुरले जुन आरक्षण नीति लागू गरेका थिए, छोरी शेख हसिनाले त्यही नीति लागू गरिन् मात्रै होइन, आरक्षणको प्रतिशत अझै बढाइन् । यसरी वर्षौंवर्ष कसैले सरकारी जागिरमा आरक्षण पाइरहने र कसैले नपाउने अन्यायपूर्ण अवस्थाको विरोध सुरू भयो ।

प्रारम्भमा विद्यार्थीहरुले यसपटक सुरू गरेका त्यो आन्दोलनमा बिस्तारै बिस्तारै अन्य पेसा व्यवसायका मानिसहरुले समेत साथ दिन थाले । हेर्दाहेर्दै हजारौँहजार मानिसले सडक भरियो । प्रहरीले रोक्न सकेन । तत्काल एक सय र कुल मिलाएर तीन सय बंगलादेशी नागरिक आन्दोलनका क्रममा मारिएपछि हसिना सरकार आत्तियो । जनता मर्ने क्रम नरोकिएपछि सेनाले हसिना सरकारलाई साथ दिन इन्कार ग¥यो । जनता हसिना निवास र कार्यालयनजिकै आइपुग्दा भाग्न पर्ने अवस्थामा पुगिन् । तत्काल उनको अगाडि कुनै विकल्प देखा परेन । आँखाबाट बरर आँसु झार्दै हेलिकप्टरको ढोकातर्फ बढिन् ।

यसरी हसिना नेतृत्वको सरकार बंगलादेशमा असफल भयो । अप्रत्याशित र अनौठो घटना भयो, जुन घटनाले असम्भव केही छैन भन्ने कुरालाई प्रमाणित गर्छ । जहाँ जहिले जे पनि हुन सक्छ भनेको यही हो । संसारका जुनसुकै देशमा जनस्तरमा असन्तुष्टि बढ्न सक्छ । शासन गर्न अलिकतिमात्रै चुक हुन गयो भने भन्न सकिन्न आन्दोलनको ज्वाला जुनकुनैरुपमा पनि दन्किन सक्छ । यो वा त्यो देशमा होइन, संसारका कुनै पनि मुलुकमा यस्ता घटना घट्न सक्छन् । हिटलर, मुसोलिनीलगायतका संसारका बडे–बडे शक्तिशालीहरु पनि यस्तै अनुमान गर्न नसकिने घटनाका शिकार भएका हुन् । 

युवाहरुको जमातलाई समय मै सम्बोधन नगर्दा आज बङलादेशले यो नियती भोग्नु परेको तथ्यलाई हाम्रा देशका मुख्यगरी दलका तीन टाउकेहरुले अझैपनी बेवास्ता गरीराखेका छन । यसको परिणाम भयावह हुन सक्छ । एउटा विद्ध्यार्थिले सन्सद भित्र पसेर गरेको विद्रोहले त्यो झलक दीसकेको छ । 

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ ।

विश्वका युवा भविष्यको जिम्मेवार वर्ग हुन् । युवासँग अथाह चुनौतीसँग जुध्न सक्ने असीम बल हुन्छ । उनीहरूको संवेदनशीलता निश्चल र निर्मल हुन्छ । युवा प्रगति, परिवर्तन एवं क्रान्तिका दूत हुन् । त्यसैले त विश्वभरिका युवालाई सही दिशा र एउटा सुन्दर भविष्यको प्रेरणा प्रदान गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको प्रमुख उद्देश्य विश्वभरिका युवालाई जागृत गर्नु हो । युवा शक्तिको सदुपयोग गरेर विश्वको सुन्दर भविष्यको सङ्कल्प साकार पार्नु हो । 

युवाको अगााडि एउटा सुन्दर देश बनाउन र परिमाणमुखी आकार दिनका लागि उत्कृष्ट विचार र रचनात्मक ऊर्जा छ । युवाको शक्ति पूरै देशका लागि असामान्य धन हो । युवाको अनुहार नै वर्तमान र भविष्यको अनुहार हो तर देशको भविष्यको अनुहार मानिने र परिवर्तनको संवाहक मानिने नेपाली युवाको अवस्था र सहभागिता भने उत्साहजनक छैन । राष्ट्रिय विकासमा युवा सहभागिता न्यून छ । युवावस्था जीवनको त्यो अवधि हो, जुन शक्ति र क्षमतासँगै अगाडि बढ्छन् । 

युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्ने नीति बनाइएको छैन । कतिपय नीति बने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । शिक्षा आर्जनका क्रममा रहेका, रोजगारी तथा वृत्तिविकासको अवस्थामा रहेका युवाका मुद्दा तथा प्राथमिकतालाई ध्यान दिइएको छैन । युवाको संवेदनशीलता र जीवनयापनका विविध पक्षबारे नजरअन्दाज गरिएको छ । वैदेशिक रोजगारी र अध्ययनका नाममा दैनिक सयौँको सङ्ख्यामा पलायन हुने युवालाई रोक्न सकिएको छैन । युवालाई देशभित्र टिकाउन प्रशस्त मात्रामा युवा आकर्षिक कार्यक्रम तयार गर्न सकिएको छैन । यस सम्बन्धमा न राज्य गम्भीर भएर लागेको छ न त यस सम्बन्धमा सरकारलाई सुनाउन सक्ने गरी कसैले आवाज बुलन्द गर्न सकेको छ । बिदेसिएका सिर्जनशील, प्रतिभावान् र क्षमतावान् युवालाई स्वदेशमै फर्काउन यथेष्ट प्रयास पनि गर्न सकिएको छैन । अन्त्यमा , ढिलो चाडो देशमा ठुलो विद्रोह हुने सन्केत देखीईसकिएको छ । 

होसियार देशका पिसाच र धमिराहरु ? अब तिमीहरुको पालो चाडो आउँदै छ ।  जय देश , जय मातृभूमी।

Back to top