×

बारा । बारा जिल्लाको कलैया स्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) बिक्री भइरहेको रहस्य सार्वजनिक भएको छ । कार्यालय प्रमुख नवाज हुसैनको निर्देशनमा दर्जनौं बिचौलियाहरू सक्रिय रहेको र सेवाग्राहीहरूलाई ठगी गर्दै आएको खुलासा भएको छ ।

स्रोतका अनुसार, प्रमुख हुसैनले अन्य जिल्लाको तुलनामा आफ्नो कार्यालयको आन्तरिक घुसको दर कम राख्दै सेवाग्राहीहरूलाई रिझाउने प्रयास गरेका छन् । मोटरसाइकलको लागि ८ हजार, कार/जिपको लागि १२ हजार, र हेभी गाडीहरूको लागि २० हजार रुपैयाँसम्म असुल गरिएको आरोप छ । हप्तामा एक पटक बिहीबार लिखित र शुक्रबार ट्रायल परीक्षाको नाममा प्रमुख हुसैनले लाखौं रुपैयाँ असुली गर्दै आएको आरोप लगाइएको छ ।

प्रमुख हुसैनले परिचालित गरेका बिचौलियाहरूले सेवाग्राहीहरूबाट असुलेको रकमलाई कार्यालयको आन्तरिक दररेट अनुसार खरिदार सत्यनारायण साह र कम्प्युटर अधिकृत कलाम हुसैन मार्फत असुल गर्ने गरेको आरोप छ । यसबारे सोही कार्यालयका एक जना कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए ।

लिखित परीक्षाका नतिजाहरू सार्वजनिक गर्ने क्रममा, फेल र उर्तिण भएका परीक्षार्थीहरूको विवरण सार्वजनिक गर्नुपर्नेमा प्रमुख हुसैनले उर्तिण भएका परीक्षार्थीहरूको नतिजा मात्र प्रकाशित गरी भ्रष्टाचार गरेको सेवाग्राहीहरूले आरोप लगाएका छन् ।

कलैया यातायात कार्यालयले सानो अवधिमै भ्रष्टाचारको मामिलामा बदनाम भए पनि नियमनकारी निकायको ध्यान नजाँदा सेवाग्राहीहरू अनेकौं शंका उपशंका गर्न बाध्य भएका छन्। यस सन्दर्भमा प्रतिक्रिया लिन कार्यालय प्रमुख हुसैनसँग सम्पर्क प्रयास गर्दा उनको मोबाइल फोन बन्द रहेको जानकारी प्राप्त भएको छ ।

Back to top