×

महोत्तरी । जलेश्वर नगरपालिका वडा नम्बर ८ स्थित रमौलमा एक नवविवाहित युवतीको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीया रिना देवी राय रहेको प्रहरीले जानकारी दिएको छ। उनको मंगलबार मध्यरात १ बजे मृत्यु भएको हो।

प्रहरीका अनुसार, रिनाका पति रोहनकुमार राउतले खाना खाएर संगै सुतेको र अचानक बिरामी भएपछि उनलाई प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका लागि लगेका थिए। उपचारका क्रममा रिनाको मृत्यु भएपछि उनको शव घरमा ल्याइएको थियो।

तर, माइती पक्षले भने यो घटनालाई शंकास्पद मानेका छन्। माइती पक्षका अनुसार, रिनाको मुखबाट रगत बगेको र घाँटीमा निलडाम देखिएको थियो, जसले हत्या भएको संकेत गर्दछ। यसै कारण माइती पक्षले पति रोहनकुमार राउतसहित परिवारका चार सदस्यविरुद्ध कर्तव्यज्यान मुद्दामा प्रहरीमा जाहेरी दिएको छ। जाहेरीमा ससुरा बृज मोहन राउत, सासु मनतोर देवी, र देवर ओमकुमार राउतसमेतलाई समावेश गरिएको छ।

प्रहरीले हालसम्म कुनै पनि व्यक्तिलाई पक्राउ नगरेको बताएको छ। यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ। पोस्टमार्टमपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

धनुषा जिल्लाको हँसपुर नगरपालिका–६ स्थित सोनिगामाकी रिना र रोहनबीच गत वैशाख १९ गते विवाह भएको थियो। रिनाका बुबा नवल रायका अनुसार, विवाहमा लत्ता, कपडा, भाडाकुँडा, फर्निचर, सुन-चाँदी लगायतका गरगहना तथा नगद गरी १५ लाखभन्दा बढी खर्च भएको थियो।

यो शोकमग्न घटना महोत्तरीको रमौल क्षेत्रका लागि अत्यन्तै दुखदायी बनेको छ। मृतक रिनाको न्यायका लागि माइती पक्षले आवाज उठाइरहेका छन्।

Back to top