×

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ५ कोइरी टोलस्थित एक वृद्धको हत्या गरी शव फालिएको अवस्थामा फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ ।

सत्ततर वर्षीय स्थानीय अनिरुद्ध महतोको शव बुधवार बिहान झोलुङ्गे पुल पश्चिम धान खेतमा फेला परेको हो । उनको पेटमा चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूका अनुसार महतो बारीमा तरकारी खेती गर्दै आफ्नो जीवन निर्वाह गर्दै आइरहेका थिए  । घटनाबारे जानकारी दिंदै वडाध्यक्ष शिवशङ्कर यादवले धारिलो हतियार प्रहार गरी हत्या गरिएको पुष्टि गरेका छन् । घटना सार्वजनिक भए लगत्तै रौतहट प्रहरीले गहिरो अनुसन्धान थालेको छ ।

घटनास्थलमा प्रहरी उपरीक्षक दिलीप घिमिरे, प्रहरी नायब उपरीक्षक एलिजा गिरी, र प्रहरी निरीक्षक उमाशंकर गुप्ताको टोली पुगेर घटनाको मुचुल्का उठाउने कार्य अघि बढाएका छन् । 

"घटनाको अनुसन्धान जारी छ, मृतक बस्ने स्थानदेखि घटनास्थलसम्म सर्च अभियान चलाइरहेका छौँ । प्रमाणहरू सङ्कलन गर्ने क्रममा छौँ, शव पोस्टमार्टमका लागि पठाउनेछौँ । अहिले केही भन्न सक्ने स्थिति छैन, अनुसन्धानपछि थप जानकारी दिनेछौँ," प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता एलिजा गिरीले भनिन् ।

घटनास्थलमा पुगेका गौर नगरपालिकाका मेयर शम्भु साह र वडाध्यक्ष शिवशङ्कर यादवले घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।

Back to top