×

रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित गौर नगरपालिकामा निर्माणाधीन भव्य विष्णु मन्दिरलाई पुनः निर्माणको मार्गमा अघि बढाउन हिन्दु सम्राट सेना अगाडि आएको छ। ६ वर्षदेखि आर्थिक अभावका कारण अलपत्र परेको यो मन्दिर निर्माणको कार्यलाई स्थानीय जनप्रतिनिधिहरूको बेवास्ता र हेलचक्राईले थप कठिनाइमा पारेको थियो।

हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादव नेतृत्वको टोलीले शनिवार मन्दिर प्राङ्गणको अवलोकन गर्दै निर्माण कार्यलाई पुनः सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। हिन्दु सम्राट सेनाको तर्फबाट नगद २० हजार रुपैयाँ सहयोग गर्दै, यादवले देशविदेशका सहयोगी हातहरूलाई मन्दिर निर्माणका लागि सहयोग गर्न अपिल गरे।

रौतहट जिल्लाका संयोजक राजभुसण श्रीवास्तवलाई आर्थिक संकलनको जिम्मेवारी दिइएको छ। पत्रकार तथा समाजसेवी संजय सहनीले मन्दिर निर्माणको अगुवाई गर्दै हिन्दु सम्राट सेनाको योगदानप्रति धन्यवाद व्यक्त गरेका छन्।

६ वर्ष पहिला पूर्वमन्त्री प्रभु साहबाट शिलान्यास गरिएको यस मन्दिरको करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। बाँकी कार्यका लागि करिब ५० लाख रुपैयाँ आवश्यक पर्ने सहनीले बताए।

नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव समेत रहेका सहनीले मन्दिर निर्माणमा सरकारबाट बजेट प्राप्त नहुँदा स्थानीय र देशविदेशका दाताहरूबाट सहयोग लिने योजना रहेको बताए।

हिन्दु सम्राट सेनाले मन्दिर निर्माणका लागि एनआईसी एशिया बैंक, गौर शाखामा रहेको खाता नंबर ०४६५७५१७४९३४०००१ र ईसेवा आईडी नंबर ९८५५०४०५३९ मार्फत सहयोगको अपिल गरेका छन्। साथै, विशेष जानकारीको लागि पत्रकार सन्जय सहनीको मोबाईल नंबर ९८५५०४०८७२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Back to top