×

ट्याक्सी सेवा प्रदान गर्ने अमेरिकी बहुराष्ट्रिय कम्पनी उबरले टेस्लाको प्रतिस्पर्धी चिनियाँ कम्पनी बीवाईडीको १ लाख ईभी खरिद गर्ने भएको छ। 

उबरले यससम्बन्धी बीवाईडीसँग सम्झौता गर्ने घोषणा गरेको हो। दुवै कम्पनीले ईभी कारमा जाने चालकलाई इन्सेन्टिभ दिने समेत बताएका छन्। जसमा मर्मत, चार्जिङ, लगानी र भाडामा छुट समावेश हुनेछ। 

बहुवर्षे सम्झौता सुरुमा युरोप, त्यसपछि ल्याटिन अमेरिकाका लागि हुनेछ। त्यसपछि मध्यपूर्व, क्यानडा, अस्ट्रेलिया र न्यु जिल्यान्डमा हुनेछ। 

पछिल्लो समय अमेरिका र युरोपेली संघले आयात शुल्क उच्च पारेपछि विश्वमा ईभी बिक्रीमा सुस्तता आइरहेको बेला दुई कम्पनीले सम्झौता गर्ने घोषणा गरेका हुन्। 

दुई कम्पनीले ईभी खरिद लागत घटाउने, उबर प्लेटफर्मममा विश्वभर ईभी बढाउने र दशौँ लाखलाई हरित यात्रा गराउने लक्ष्य राखेका छन्। साथै उबर प्लेटफर्ममा बीवाईडीका स्वचालित प्रविधि एकीकृत गर्न काम गर्ने पनि कम्पनीहरुले जनाएका छन्। 

यही वर्षको सुरुतिर उबरले अमेरिकामा आफ्ना चालकमाझ ईभी चलाउन प्रवर्द्धन गर्नको लागि काम गरिरहेको बताएको थियो। कम्पनीले दक्षिण कोरियाली कार कम्पनी कियासँग मिलेर विशेष उद्देश्यको ईभी बनाउने योजना अघि सारेको थियो। 

अमेरिका, युरोप र अन्य मुख्य बजारले भर्खरै मात्र आफ्ना कार कम्पनीको संरक्षण गर्ने लक्ष्यसहित चीनमा बनेका ईभीमा उच्च आयात शुल्क लगाउने घोषणा गरेका थिए। 

योसँगै बीवाईडी र अन्य चिनियाँ ईभी उत्पादकलाई आफ्नो उत्पादन चीनबाहिर विस्तार गर्नुपर्ने देखिएको छ। 

गत जुलाईमा बीवाईडीले टर्कीमा १ अर्ब डलरको उत्पादन प्लान्ट बनाउने सम्झौता गरेको थियो। जहाँ वार्षिक डेढ लाख ईभी कार उत्पादन हुने टर्किस मिडियाले जनाएका छन्।

Back to top