×

रौतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमी बिबादमा मुछिएका छन्। आफ्नो कार्यकालमा अस्पताललाई सुविधा सम्पन्न बनाएको दाबी गर्ने हासमीमाथि भ्रष्टाचार, अनियमितता, र लुटखसोटको गम्भीर आरोप लागेको छ। निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरको मिलिभगतमा हासमीले टाइल्स जडान, औषधि खरिद, मर्मत-सम्भार, रङ्गरोगन, उपकरण खरिद, र करारको कर्मचारी भर्नामा ठुलो अनियमितता गरेको भन्दै चर्चाको विषय बनेको छ।

हासमी जसपाको कोटाबाट अध्यक्ष बनेका हुन्। आफ्नो भ्रष्टाचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काँग्रेस पार्टीको नेताहरू नजिक बन्ने प्रयासमा रहे तापनि हासमीको विवादित छवि कारणले कसैले नपत्याएको रौतहटका पत्रकार सतेन्द्र सिंहको दाबी छ।

अर्को तिर प्रदेशमा सुशासन ल्याउनको लागि बनेको सिके राउत नेतृत्वको जनमत पार्टीको सरकारले हासमीको पोल खोलिदिने डरले हासमीको होस् उडेको देखिएको छ। कहिले पत्रकार त कहिले समाजसेवीमाथि खनिने अध्यक्ष हासमी प्रदेशका वर्तमान स्वास्थ्य मन्त्री सत्रुधन सिंहलाई रिझाएर आफूलाई चोखो प्रमाणित गर्ने खेलमा लागेको आरोप लागेको छ।

अस्पताल जस्तो ठाउँलाई अनियमितता र लुटखसोटको अखडा बनाएको भन्दै स्थानीयहरूले अध्यक्ष हासमीलाई बर्खास्तको माग गरेका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेम चन्द्र झाले गौर अस्पतालको भ्रष्टाचार र अनियमितताको छानबिन भए मेडिकल सुपरिटेन्डेन्ट, लेखापाल, र अध्यक्ष स्वयं जेल जाने आरोप लगाएका छन्। अध्यक्ष झाले टाइल्स, औषधि खरिद, न्यानो झोला, अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम, र करारका कर्मचारी भर्ना लगायतका काण्डको छानबिन भए मेसु देखि अध्यक्षसम्म जेल जाने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन्।

गौर अस्पतालमा जाने गरेका सेवाग्राहीहरूलाई प्राइभेट क्लिनिकमा पठाउने काममा अध्यक्ष हासमीकै हात रहेको सेवाग्राहीहरूको गुनासो छ। अस्पताल विकास समितिले अस्पतालको विकास नगरी आफ्नो व्यक्तिगत विकास गर्न लागेपछि स्थानीय असन्तुष्ट बन्नु स्वाभाविक रहेको गौरका समाजसेवी अभिमन्यु गुप्ताले बताएका छन्।

गुप्ताले अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टमाथि लागेका भ्रष्टाचारका आरोपको छानबिन गरि आजीवन काराबासको समेत माग गरेका छन्। यस विषयमा प्रदेश सरकार गम्भीर भएर नलागे सरकार पनि यस धन्दामा समलग्न रहेको पुष्टि हुने गौरका प्रबुद्ध वर्गको भनाई छ। यस विषयमा अध्यक्ष हासमीसँग सोधपुछ गर्न खोज्दा सम्पर्क हुन सकेन।

Back to top