×

वीरगञ्ज । वीरगञ्जका बरिष्ठ पत्रकार चन्द्रकिशोर झा ‘सेवा पुरस्कार नेपाल’ बाट पुरस्कृत भएका छन् । कर्मयोगी बद्रीविक्रम थापाको १०२ औं जन्म स्मृतिको अवसरमा झा दुई लाख २२ हजार २ सय २२ रूपैयाँ राशीको पुरस्कारबाट पुरस्कृत भएका हुन् । 

कर्मयोगी बद्रीविक्रम थापा स्मृती सेवा गुठीद्वारा शनिवार काठमाण्डौस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२ औं जन्म स्मृति सभा एवं बद्रीविक्रम राष्ट्र गौरब पुरस्कार  तथा सेवा पुरस्कार वितरण कार्यक्रमका अवसरमा झा पुरस्कृत भएका हुन् । 

खोज पत्रकारिता केन्द्र नेपालका पूर्व अध्यक्ष समेत रहेका झाले आम नागरिकका मुद्दा र विषयलाई प्राथमिकताका साथ उठान गर्दै पत्रकारितामार्फत पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । 

पुरस्कार ग्रहण गर्दै पत्रकार झाले पत्रकारिता सत्ताको पछि लाग्न छोडेर भूँइ मान्छेको पछि लाग्नुपर्ने आवश्यक्ता औँल्याए । पत्रकारिता सिद्धान्त र व्यवसायिकताबाट बिचलीत हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तै पुरस्कारले अझै सक्रिय पूर्वक आम नागरिकका मुद्दा उठानमा ऊर्जा मिल्ने धारणा राखे । सत्ताहरूको संगठित सञ्जाललाई चिर्दै मान्छेहरूको मनमा पत्रकारिताप्रति रहेको डरलाई हटाउनुपर्नेमा जोड दिँदै उनले सर्वसाधारण नागरिकले पनि प्रश्न गर्ने साहस जुटाउने वातावरणको निर्माणमा हातेमालो गर्न आग्रह गरे । 

कृष्णप्रसाद भट्टराईको स्मृतिमा पुस्तक किसुनजी र नियमित पत्रिका सेवा नेपालका सम्पादक हरि मञ्जु श्रीले किसुनजी र कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीका बारेमा प्रकाश पारे । उनले नेपाली काँग्रेसको संस्थापक, वि.स. २००७ सालको आन्दोलनका अगुवा नेता, पहिलो संसदको सभामुखसमेत भएका किसुनजीको राजनीतिक योगदान अतुलनीय रहेको बताए ।

बद्रीविक्रम थापा निजी सम्पति तथा परिवारवादबाट टाढा रहेको व्यक्ति भएको बताउँदै सादा जवन उच्च विचारका अनुयायीसमेत रहेको जानकारी गराए । लोभ नगर्ने, मान र अपमानमा भेद नगर्ने एवम् जिम्मेवारीलाई सत प्रतिशत दिने बद्रीविक्रमको स्वभावलाई अहिलेका पुस्ताले अनुसरण र अनुकरण गर्नुपर्ने उनको सुझाव छ । 

कार्यक्रमलाई सम्बोधन गर्र्दै वक्ताहरुले गुठीले छात्रवृत्ति, धर्म, सँस्कृति कला साहित्य बाहेकका अन्य क्षेत्रमा पनि सक्रियपूर्वक काम गरीरहेको भन्दै सह्राना गरे । गुठीले अग्रजको सम्मानसँगै नयाँलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिन पनि वक्ताहरुले आग्रह गरेका छन् । 

सोही अवसरमा दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ राशीकै बद्रीविक्रम राष्ट्र गौरब पुरस्कारबाट वरिष्ठ नेत्ररोग विशेषज्ञ एवं विश्वविख्यात व्यक्तित्व डा सन्दुक रुइत पुरस्कृत भएका छन् । 
 

Back to top