×

वीरगञ्ज । वीरगञ्ज नाकाका २ ओटा भन्सार कार्यालयबाट कुल आयातको करीब आधा परिमाण भित्रिने गरेको छ । आयात मूल्यका आधारमा वीरगञ्जका भन्सारबाट आधाजसो अयात भएको हो ।  

करीब दशकअघि वीरगञ्जलाई केन्द्र बनाएर गरिएको मधेश आन्दोलन र नाकाबन्दीका कारण यहाँबाट हुने वैदेशिक व्यापार अन्य नाकातर्फ केन्द्रित भएकोमा पछिल्ला वर्षहरूको तथ्यांकले वीरगञ्ज पुरानै लयमा फर्किएको देखाएको छ । 

बितेको आर्थिक वर्ष (आव) २०८०/८१ मा वीरगञ्जको आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट कुल आयातको ४७ दशमलव ०८ प्रतिशत मालसामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यसमा आईसीपी भन्सार एक्लैको योगदान ३४ दशमलव ३० प्रतिशत छ । 

संविधान जारी भएको वर्ष २०७२ को भदौदेखि माघसम्म चलेको संविधानविरोधी आन्दोलन र नाकाबन्दीले वीरगञ्ज नाका ठप्प भएको थियो । त्यसबेला साविक वीरगञ्ज भन्सार नाका आन्दोलनकारीले ठप्प पारेका थिए । वीरगञ्ज नाका बन्द भएपछि अधिकांश व्यापार भैरहवा भन्सारतर्फ गएको थियो । 

त्यस आवमा वीरगञ्ज भन्सारबाट हुने आयात २३ दशमलव ५० प्रतिशतमा झरेको थियो । माघमा नाकाबन्दी हटेपछि आयातनिर्यात शुरु भएको थियो । त्यसबेला वीरगञ्ज र सुक्खा बन्दरगाह दुवै भन्सारको कुल आयात परिमाण समग्र आयातको ३५ प्रतिशतमा खुम्चिएको थियो । देशको मध्यभागमा रहेको, समुद्री बन्दरगाहबाट छोटो दुरी र सहज पारवहन, सबैभन्दा ठूलो औद्योगिक कोरिडोरमा रहेको नाकाबाट व्यापार खुम्चिएपछि स्थानीय उद्यमी व्यापारी चिन्तित भएका थिए । 

त्यसपछिका वर्षहरूमा वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात क्रमशः सुध्रिँदै आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । आव २०७९/८० मा आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट ४७ दशमलव ३७ प्रतिशत आयात भएको तथ्यांक छ । नाकाबन्दीताका भैरहवा भन्सारको आयातको तथ्यांक ह्वात्तै बढेको थियो । 

आव २०७२/७३ मा कुल आयातमा भैरहवाबाट करीब २५ प्रतिशत भित्रिएको देखिन्छ । त्यसबेला वीरगञ्जको केही व्यापार विराटनगर नाकातर्फ पनि केन्द्रित भएको थियो । त्यतिबेला भैरहवा भन्सारतर्फ गएको गाडीको आयात अझै पनि वीरगञ्जमा फर्किइनसकेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी बताउँछन् । 

वीरगञ्ज नाकाबाट मुख्यरूपमा इन्धन, सवारीका साधन र औद्योगिक कच्चा पदार्थको आयात बढी हुन्छ । निर्यात व्यापारतर्फ भने आईसीपी र विराटनगर भन्सारबाट सामान २० प्रतिशतको हाराहारीमा निकासी भएको देखिन्छ । वीरगञ्जबाट कपडा, जुस, प्रशोधित तेल, धागोलगायतको निर्यात हुन्छ । विराटनगरबाट तरकारी, जुट, चियाजस्ता उत्पादन निकासी हुने भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

व्यापार व्यवसाय जता सहज वातावरण बन्यो त्यतै जानु स्वाभाविक भएको उद्यमी अरविन्द्र अमात्य बताउँछन् । ‘उद्यम व्यापारमा वीरगञ्जको विशिष्टता उपयोगका लागि व्यापारमा सहजीकरण र उद्यम व्यापारमैत्री वातावरण प्रवर्द्धनमा जोड दिनु पर्छ । भौगोलिक र भौतिक पूर्वाधारलाई नीति र प्रवृत्तिले उकास्न सकिन्छ,’ अमात्यको बुझाइ छ । आर्थिक अभियानमा ओमप्रकाश खनालले लेखेका छन् । 

मूल्यका आधारमा मुख्य ५ भन्सारबाट भएको आयात (प्रतिशतमा) 

 

भन्सार कार्यालय

आव ०७६/७७

आव ०७७/७८

आव ०७८/७९

आव ०७९/८०

आव ०८०/८१

वीरगञ्ज (आईसीपी)

३४.३७

३३.२३

३६.७८

३६.८२

३४.३

भैरहवा 

१६.६१

१८.२९

१५.४

१५.१९

१५.२३

वीरगञ्ज सुक्खा बन्दरगाह

१३.८४

१२.३

११.३५

१२.५५

१२.७८

विराटनगर

११.०४

१२.३२

११.०९

११.५७

११.०९

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल 

९.५४

९.३१

१०.९७

९.६

१०.९७

तथ्यांक स्रोत : भन्सार विभाग । 

Back to top