×

वीरगञ्ज । वीरगञ्जस्थित बिआईटी इन्जिनियरीङ् कलेजमा विरुवा रोपिएको छ । बिहिवार बिहान कलेज परिसरमा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनाले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले हरेक विद्यालयसँगै विभिन्न संघ संस्था र व्यक्तिहरुले विरुवा रोप्नुपर्नेमा जोड दिए । पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनका संकटलाई कम गर्नका लागि विरुवा रोप्नुको विकल्प नरहेको उनले बताए । 

वीरगञ्ज इन्सिच्युट अफ टेक्नोलोजी (बिआईटी) कलेजको परिसरमा निम, आवला, बेल, अनार, सिसी, गुल मोहर, जाकरन्दा, कदम, सखुवा, अम्बा, अर्जुन लगायतका विभिन्न प्रजातीका विरुवा रोपिएको कलेजका परीक्षा प्रमुख पवन बस्नेतले जानकारी दिए । उनकाअनुसार विभिन्न प्रजातीका ५० थान विरुवा रोपिएको हो । 

प्राकृतिक वातावरणको सन्तुलन कायम राख्न र पृथ्वीलाई हराभरा बनाउन सबैले विरुवा रोप्नुपर्ने कलेजका प्रिन्सीपल निरज श्रीवास्तव बताउँछन् । कार्बन डाइअक्साइडलाई अवशोषित गर्न र हामीलाई आवश्यक पर्ने अक्सिजनको उत्पादन गर्न विरुवाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विरुवा रोप्नुपर्ने उनको बुझाई छ । 

सो अवसरमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, महिला नेतृ एवम् समाजसेवी रम्भा मिश्रा, राजेश आर्य, पर्सा क्रिकेट एशोसिएसन संघका अध्यक्ष ई.मनिष सिंह, आरके शर्मा, सरिता जैसवाल, जयप्रकाश बिराजी, नवलकिशोर सिंह, अवधकिशोर सिंह, पवन सिंह लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top