×

वीरगञ्ज । सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेपछि पर्सा जिल्लाको रामभौरीभाठामा लागिरहेको एक महीने दुग्धेश्वर महादेवको मेला प्रभावित भएको छ। सशस्त्र प्रहरीले यस वर्षदेखि भारतबाट आउने व्यापारीहरूलाई सामानसहित प्रवेशमा रोक लगाएको कारण मेला प्रभावित भएको हो।

सशस्त्र प्रहरीले खासगरी चिनी, मैदा, पीठो लगायतका खाद्यान्न बोकेर मेलामा पसल थाप्न आउने भारतीय व्यापारीहरूलाई रोक लगाएको छ। यसका कारण थुप्रै भारतीय व्यापारीहरू सीमा क्षेत्रमा नै रोकिएका छन्। यस अघि, एकजना व्यापारी सामानसहित नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले ट्याक्टर र सामान वीरगंज भन्सार कार्यालयमा चलान गरेको थियो। यस डरले अन्य व्यापारीहरूले नेपाल प्रवेश गर्न सकेका छैनन्।

छिमेकी भारतका कङ्गाली, भेलाही, सिकटा, मैनाटार, इनर्वालगायत स्थानबाट दुग्धेश्वर महादेवको मेलामा पसल थाप्न आउँने व्यापारीहरूलाई यस वर्ष सशस्त्र प्रहरीले रोक लगाएको छ। यसैगरी, सशस्त्र प्रहरीले भारतीय सवारीसाधनहरूलाई भिस्वा नाकाबाट मात्र प्रवेश अनुमति दिएकोले धार्मिक पर्यटकहरूलाई पनि समस्या भएको छ।

गत वर्षसम्म सीमावर्ती भारतको कङ्गालीबाट नेपालका सबैठवा, भेलाहीबाट धोरे, प्रसौनी, अमरपट्टी, सिकटाबाट भिस्वा, मैनाटार, इनर्वाबाट प्रसौता, जानकीटोला भएर नेपाल प्रवेश गरी दुग्धेश्वर महादेवको मेलामा सहभागी हुने गरेका भारतीय भक्तजनहरू यसपटक भिस्वा नाकाबाट मात्र प्रवेश दिइएको कारण कम सङ्ख्यामा आएका छन्। भारतीय सवारीसाधनहरू ट्याक्टर, सुमो, टेम्पो, ईरिक्शा, मोटरसाइकल, जीपकार भिस्वा नाकामा सवारीसाधन दर्ता गरेर प्रवेश गराइँदैछ।

सशस्त्र प्रहरीको सीमामा कडाइका कारण साउन ६ गतेदेखि सञ्चालनमा आएको एक महीने दुग्धेश्वर महादेवको मेलामा पसलहरूको सङ्ख्यासँगै भारतीय भक्तजनहरूको सङ्ख्यामा पनि कमी आएको छ।

Back to top