×

वीरगञ्ज।  पर्सा सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ पूँजीगत खर्च गरेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले कुल पूँजीगत बजेटको ७३ दशमलव ५० प्रतिशत खर्च गरेका छन्।

कोष नियन्त्रक यज्ञराज उप्रेतीले गत आवको असार महिनामा मात्र ५१ कार्यालयले रु ४२ करोड ९८ लाख ७१ हजार एक सय ७० पूँजी खर्च गरेको जानकारी दिए। उनले भने, "पर्साका सरकारी कार्यालयको समग्रमा पूँजीगत खर्च सन्तोषजनक नै देखिन्छ।"

सङ्घीय सरकार मातहतका ५१ कार्यालयका लागि गत आवमा चालु खर्चतर्फ रु १० अर्ब ५९ करोड ४५ लाख ५० हजार तीन सय ६१ बजेट विनियोजन गरिएको थियो। चालुतर्फ विनियोजित रकममध्ये ९५ दशमलव ४५ प्रतिशत अर्थात् रु १० अर्ब १२ करोड १६ लाख ६९ हजार चार सय ८६ खर्च भएको छ। असार महिनामा मात्र चालु खर्चतर्फ रु एक अर्ब ३० करोड छ लाख दुई हजार सात सय आठ खर्च गरिएको थियो।

पर्साका सरकारी कार्यालयहरूले गत आवमा पूँजीगत र चालुतर्फ गरी कुल रु ११ अर्ब ९९ करोड तीन लाख ६८ हजार सात सय तीन खर्च गरेका छन्। आव २०७९/८० मा पर्साका सरकारी कार्यालयहरूले रु १४ अर्ब १५ करोड ३७ लाख आठ हजार तीन सय ८७ खर्च गरेका थिए। यसमध्ये चालु खर्चतर्फ रु १० अर्ब ५८ करोड ५३ लाख ३४ हजार एक सय ६८ र पूँजीगततर्फ रु तीन अर्ब ५६ करोड ८३ लाख ७४ हजार दुई सय १९ खर्च गरिएको थियो।

प्रमुख कोष नियन्त्रक उप्रेतीका अनुसार जिल्ला सरकारी कार्यालयहरूले गत आव २०८०/८१ मा रु दुई खर्ब सात अर्ब १२ करोड ९३ लाख ९५ हजार छ सय २५ राजस्व सङ्कलन गर्न सफल भएका छन्। उप्रेतीले भने, "पर्सा जिल्लाका सरकारी कार्यालयहरूले अघिल्लो आवभन्दा गत आवमा रु छ अर्बभन्दा धेरै राजस्व सङ्कलन गरेका छन्।"

आव २०७९/८० मा दुई खर्ब एक अर्ब ३९ करोड ८१ लाख १० हजार आठ सय ४२ राजस्व सङ्कलन गरिएको थियो। उप्रेतीले अघिल्लो आवभन्दा अर्थतन्त्रका सूचकमा सुधार आएकोले पनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए। उनले भने, "अघिल्ला वर्षभन्दा पनि भन्सार राजस्वमा सुधार आएको छ। विस्तारै अर्थतन्त्रका सूचकमा सुधार आएकाले पनि राजस्व बढेको देखिन्छ।"

Back to top