×

वीरगञ्ज । सशस्त्र प्रहरीले एक वर्षमा ३४ करोड बढीको सामग्री बरामद गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले १९ करोड १६ लाख ९६ हजार ९७५ रुपैयाँ बराबरको अबैध निकासी, पैठारी भएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । 

यस्तै १४ करोड ८९ लाख ४८ हजार ५५६ रुपैयाँ बराबरको सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देबेन्द्र सिंहले जानकारी दिए ।

डिएसपी सिंहले यात्रा डेलीलाई उपलब्ध गराएको वार्षिक प्रगति प्रतिवेदनअनुसार सशस्त्र प्रहरीले यस आर्थिक वर्षमा जम्मा ३४ करोड २७ लाख ७८ हजार ३१३ मूल्य बराबरको अवैध निकासी तथा पैठारी भएका सामान तथा सवारी साधन बरामद गरेको छ । 

सोही अवधिमा सशस्त्र प्रहरीले ६० लाख ३० हजार ९८५ नेपाली नगद पनि बरामद गरेको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट एक वर्षको अवधिमा स्रोत नखुलेको रकम बरामद गरेको डिएसपी सिंहले बताए । उनकाअनुसार १४ लाख ७४ हजार ४८० भारतीय नगद पनि बरामद गरिएको छ । सोही अवधिमा नगदसहित १५ जना व्यक्तिलाई पनि सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पर्साका विभिन्न स्थानबाट ४० लाख ९३ हजार ३५५ रुपैयाँ बराबरको एक हजार ५५४ क्युबिक फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । 

बितेको आर्थिक वर्ष ०८०/८१ मा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा, चरेश, ब्राउनसुगर तथा प्रतिबन्धित ट्याब्लेटहरु पनि बरामद गरेको छ । एक वर्षमा २२६ किलो गाँजा र १ किलो चरेश तथा ९६९ पीस डाइजापाम, ८७९ पीस फेनार्गन, ९९७ पीस नुर्फिन, २४८ पीस नाइट्रोभेट, ४ दशमलव ३७ ग्राम ब्राउनसुगर, १५ हजार २६ पीस ट्रमाडोलसहितका प्रतिबन्धित औषधीहरु बरामद गरेको डिएसपी सिंहले जानकारी दिए । 

सशस्त्र प्रहरीले गत वर्षको साउन १ गतेदेखि यस वर्षको असार ३१ गतेसम्म ७९ जनालाई पक्राउ गरेको छ । अवैध काठसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बालुवा/ट्याक्टरसहित एक जनालाई पक्राउ गरेको छ भने मानव तस्करी तथा ओसारपसारमा संलग्न १५ जनालाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । उनकाअनुसार अवैध निकासी तथा पैठारीका सामानसहित १९ जना पक्राउ परेका छन् । त्यस्तै २६ जना लागुऔषधसहित पक्राउ परेको पनि उनले जानकारी दिए । 

पर्सा जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरी युनिट तथा गुल्महरुको सक्रियताको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सह्राना गरे । सीमा सुरक्षासँगै राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियपूर्वक काम गरीरहेको उनको जिकिर छ । खुला सीमानाले केही चुनौती थपिएपनि सिमित स्रोत साधन र अपर्याप्त जनशक्तिका बाब्जुद पनि सकेसम्म राम्रो प्रतिफल आउने गरी काम भइरहेको उनको प्रतिक्रिया छ ।

Back to top