×

एसिसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् ।

नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र कृतिका मरासिनीको स्थानमा सबनम राइ र डली भट्ट टोलीमा आएका छन् ।

भारतले भने आज नियमित कप्तानी हर्मनप्रित कौर र पूजा भस्त्राकरलाई विश्राम दिएको छ ।

नेपालको प्लेइङ ११ः

इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, विन्दु रावल, सबनम राई, डली भट्ट

समूहमा भारत र पाकिस्तानको समान ४–४ अंक छ । पाकिस्तानले सबै ३ खेल खेलिसकेको छ । पाकिस्तानले आज भएको पहिलो खेलमा युएईलाई १० विकेटले पराजित गरेको थियो । नेपालको २ अंक रहेको छ ।

सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नु पर्ने छ । त्यसपछि पनि नेट रनरेटका आधारमा शीर्ष दुई टोलीको निर्धारण हुनेछ । तर सो नतिजा नेपालका लागि निकै कठिन रहेको छ ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध १० विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून रहेको छ । पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।

Back to top